काठमाडौं । नेपाली यू-१५ महिला फुटबल टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले खेलाडीले शतप्रतिशत खेल्न नसक्दा साफ यू-१५ च्याम्पियनसिपमा लगातार हार व्यहोरेको बताएका छन् ।
भुटानको थिम्पुमा शुक्रबार बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएपछि बोल्दै प्रशिक्षक श्रेष्ठले हारको कारण खेलाडीलाई औल्याए ।
'नेपालले पाएको अवसरको सदुपयोग गर्न सकेन । खेलाडीले पनि आफ्नो शतप्रतिशत दिन सकेनन्,' पोष्ट म्याच कन्फरेन्समा प्रशिक्षक श्रेष्ठले भने, 'पहिलो हाफमा खेलाडीले सोचे जस्तो खेल्न सकेन । दोस्रो हाफमा राम्रो गरेपनि गोल गर्न सकेनौं ।'
साविक विजेता बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमै दुई गोल गरेको थियो । उसका शाहिदा अख्तर र शामसुन्नहरले एक एक गोल गरेकी थिइन् ।
तर, दोस्रो हाफमा नेपालले एक गोल फर्काएको थियो। नेपालकी अमिषा कार्कीले गोल गरेकी थिइन् ।
यस्तै प्रशिक्षक श्रेष्ठले नेपालले सुरुवातमा गोल खाएपछि खेलाडी आतिएको बताए । उनले अन्तिम खेलमा राम्रो प्रदर्शन गर्ने समेत बताए ।
'पहिलो गोलपछि खेलाडी आत्तिए झै देखिए तर,भुटानसँगको खेलमा राम्रो गर्ने प्रयास गर्ने छौँ,' प्रशिक्षक श्रेष्ठले थपे ।