काठमाडौं । नेपालले विश्वकप छनोटको दोस्रो चरणमा अष्ट्रेलियासंग खेल्यो । अष्ट्रेलिया विश्वकपमा नियमित जस्तै खेल्दै आईरहेको टोली हो ।
युरोपमा शीर्ष डिभिजनको लिग खेल्ने खेलाडीको बाहुल्यता रहेको अष्ट्रेलियाविरुद्व नेपालको राष्ट्रिय फुटबल टिम क्यानबेरामा उत्रिएको थियो ।
घरेलु टोली अष्ट्रेलियाको लक्ष्य नेपालमाथि धेरै भन्दा धेरै गोल गर्नु थियो ।
नेपाल भने जति सक्दो कम गोल ब्यहोर्न चाहन्थ्यो ।
घरेलु मैदानमा सुरुवातबाटै आक्रमक देखिएको अष्ट्रेलियाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा थप दुई गोल गर्यो ।
फुटबल विश्लेषक संजिब मिश्र नेपाली टिमले समग्रमा उत्कृष्ट प्रर्दशन गरेको मान्छन् ।
‘सुरुवाती ३० मिनेटमै तीन गोल खान पुग्यौ, त्यसैले दवाब भयो । सुरुमै राम्रो खेलेको भए गोल अन्तर अझ कम हुने थियो ।’ उनी भन्छन्, ‘खेलाडीले सुरुमै गल्ती गरे । बिस्तारै गल्ती सुधार गर्दा धेरै गोल हुनबाट जोगियौं ।’
मेलबर्न सिटीबाट खेल्दै आएका २६ बर्षिया जेमी म्याक्लारेनले छैटौ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । उनैले १९ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । डेब्यु खेलाडी ह्यारिले २३ औ मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमै ३–० ले पछाडी परेको थियो ।
खेल अगाडी बढ्दै जाँदा खेलाडीले समेत धेरै सुधार गरे । साथै प्रशिक्षक योहान कालिनको ४–५–१ को रणनीति सफल हुँदा नेपाली टिम धेरै गोल खानबाट जोगियो ।
प्रिमियर लिग र बुन्डेसलिगा खेलेका खेलाडीसंग बल खोस्न र कन्ट्रोल गर्न नेपाली खेलाडीले डर मानेको मिश्रको बुझाई छ ।
‘खेलाडी पहिलो हाफमै बल कन्ट्रोल गर्न र बल खोस्न गाह्रो माने । तीन गोल खाएपछि कमजोरी सुधार गरेको देखियो । त्यसैले पनि धेरै गोल खानबाट जोगिएको जस्तो देखियो ।’ उनले भने ।

फिफा बरियतामा अष्ट्रेलिया नेपाल भन्दा १ सय १७ स्थान माथि रहेको छ ।
नेपाली फुटबलको इतिहासमा पहिलो पटक नेपालले सबैभन्दा माथिल्लो वरियताको राष्ट्रसंग खेल्न पाएको हो ।
सोही कारण नेपालको प्रर्दशनलाई सन्तोषजनक मानिएको छ ।
अष्ट्रेलिया फिफा बरियतामा ४४ स्थानमा रहेको छ ।
पाँच पटक विश्वकप खेलिसकेको अष्टेलियासँग नेपाल ठुलो अन्तरले पराजित हुने धेरैको अनुमान थियो । तर नेपाली खेलाडीले अष्ट्रेलियालाई ५ गोलमै रोक्न सफल भए ।
नेपाली फुटबलको आफ्नै कथा छन् । दर्दनाक व्यथा छन् । गतिलो मैदान छैन, नियमित लिग छैन । गतिला प्रतियोगिता छैनन् । एक हिसाबले विस्तारै फुटबल मुर्झाउँदैछ ।
त्यसैले पनि नेपालको प्रर्दशनलाई सोचे भन्दा राम्रो मानिएको छ ।
छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
नेपालले अन्तिम अवे खेलमा जोर्डनसंग खेल्नेछ ।