काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।
अष्ट्रेलियाको क्यानबेरामा बिहिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५-० गोल अन्तरले पराजित भएको हो ।
जियो स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन जेमी म्याक्लारेनले ह्याट्रिक गरे । ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो । नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरे ।
पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो । फिफा वरीयतामा ११७ औं स्थान माथिको अष्ट्रेलियाविरुद्ध नेपालले एक पटक पनि उत्कृष्ट पोस्ट आक्रमण गर्न सकेन् ।
कमजोर टिम नेपालविरुद्ध अष्ट्रेलियाले खेलको छैटौं मिनेटमा म्याक्लारेनको गोलबाट अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत दोस्रो गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाए ।
खेलको २३ औं मिनेटमा ह्यारीले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।
खेलको ५९ औं मिनेटमा दिनेशले आत्मघाती गोल गर्दा अष्ट्रेलिया ४-० ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत तेस्रो गोल गरेर ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५-० को जित दिलाए ।
जितसँगै समूह 'बी' को अष्ट्रेलियाले २ खेलमा शतप्रतिशत जित निकालेको छ । र, अष्ट्रेलियाले २ खेलमा ६ अंक जोडेको छ । अष्ट्रेलिया समूहको शीर्ष स्थानमा रहेको छ ।
नेपालको भने यो दोस्रो हार हो । यसअघि नेपालले कुवेतसँग ७-० को हार व्यहोरेको थियो । नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपालले चाईनिज ताइपेलाई २-० ले हराएको थियो । नेपाल समूहको चौंथो स्थानमा रहेको छ ।
अब नेपालले चौंथो खेलमा जोर्डनको सामना गर्नेछ । नेपालले जोर्डनसँग अक्टोबर १५ मा उसैको मैदानमा खेल्नेछ ।