एजेन्सी । अर्जेन्टिनी फरवार्ड पाउलो ड्याबालालाई ७० मिलियन युरो तिर्ने टोटेनहमको प्रस्तावलाई युभेन्ट्सले स्विकार गरेको छ ।
प्रिमियर लिग क्लब टोटेनहमले युभेन्ट्सका स्टारलाई तिर्ने मुल्यका बिषयमा दुवै क्लब सहमत भएका छन् । अब ब्यक्तिगत शर्तमा छलफल अघि बढेको छ ।
पछिल्लो सहमतीले ड्याबाला प्रिमियर लिग क्लब टोटेनहम आउने सम्भावना बढेको छ ।
सन् २०१५ मा टुरिन आएपछि युभेन्ट्सले ड्याबालालाई मुख्य खेलाडीको रुपमा प्रस्तुत गर्दै आएका थिए । उनी सम्मिलित युभेन्ट्सले चार सिजन सिरि एको उपाधि जितेको थियो ।
गत सिजन क्रिस्टियानो रोनाल्डो युभेन्ट्स आएपछि ड्याबालाको भुमिकालाई लिएर प्रश्न उठ्न सुरु भएको छ ।
अर्जेन्टिनी फरवार्डले गत सिजन १० गोलमात्र गरेका थिए । त्यसअघिको सिजनमा उनले २६ गोल गरेका थिए ।
ड्याबाला पछिल्लो समय म्यानचेष्टर युनाईटेडसंग जोडिएका थिए । उनी र युनाईटेडका रोमेलु लुकाकुको बिषयमा दुवै क्लब सहमती नजिक थिए । तर ड्याबालाको तलबको बिषयमा कुरा नमिलेपछि युभेन्ट्स पछाडी हटेको थियो ।
ड्याबालाको आगमनले टोटेनहमलाई नयाँ सिजनमा ठुलो राहत दिनेछ । टोटनहम गत सिजन च्याम्पियन्स लिगको फाईनल प्रवेश गरेको थियो । तर फाईनलमा उपाधि जित्न बञ्चित भएको थियो ।
सोही कारण नयाँ सिजनका लागि केही खेलाडी अनुबन्धन गर्नुपर्ने चुनौती टोटेनहमलाई छ । उसले दुई नयाँ खेलाडीलाई क्लबमा अनुबन्धन समेत गरिसकेको छ ।
प्रिमियर लिग क्लबलाई नयाँ खेलाडी अनुबन्धन गर्न बिहिबारसम्मको लागि समय छ । ड्याबालालाई मात्र नभएर टोटेनहमले बार्सिलोनाका फरवार्ड फिलिप कौटिन्होलाई समेत सम्भावित सुचिमा राखेको छ ।