काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
शुक्रबार राति सम्पन्न खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–१ सेटमा पराजित गरेको हो।
हेल्प नेपालले पहिलो खेलमा माल्दिभ्सकै क्लब धिवेही सिफाइन्गे क्लबलाई ३–२ को कठिन सेटमा पराजित गरेको थियो। दोस्रो जित निकाल्ने क्रममा हेल्प नेपालले दुई सेट लगातार जितेको थियो।
पहिलो सेटमा एचडिसीलाई हेल्प नेपालले २५–१९ ले पाखा लगायो। दोस्रो सेट भने केही रोमाञ्चक बनेको थियो। तर, घरेलु टोलीलाई २३ मै रोक्दै हेल्प नेपालले २–० को अग्रता लियो।
तेस्रो सेट भने हेल्प नेपालको फितलो रह्यो। उक्त सेट १९–२५ ले गुमायो। योसँगै एचडिसीले पुनरागमन गर्ने मौका पाएको थियो। तर, २२ अंकमा नै रोक्दै हेल्प नेपालले खेल ३–१ को सेटमा आफ्नो पक्षमा पार्यो।