हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश

काठमाडौं। सन् २०२६ को एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको बंगलादेशको राष्ट्रिय फुटबल टिमले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने निश्चित छ।
तर, यो खेलले मात्र हङकङजस्तो बलियो प्रतिस्पर्धी टिमविरुद्ध खेल्न पर्याप्त नहुने बताएको छ। बंगलादेशले सेप्टेम्बर ६ र ९ मा नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) का अध्यक्ष ताबिथ अवालका अनुसार त्यसैले टोलीले अक्टोबरको सुरुतिर ‘हाई इन्टेन्सिटी’ क्लबसँग एक वा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिएको छ।
ती खेल फिफा विन्डोभन्दा बाहिर हुने सम्भावना छ। त्यसैले राष्ट्रिय टोलीका खेलाडी उपलब्ध नहुन सक्छन्। तर, बंगलादेशले साउदी अरब, कतार, चीन, जापान र थाइल्यान्डका शीर्ष क्लबहरूलाई प्रस्ताव पठाइसकेको छ।
सोमय टिभीसँग अवाल भन्छन्, ‘हामीले ईस्ट एसियाका क्लबहरू (जापान, दक्षिण कोरिया, चीन) र साउथ ईस्ट एसियाका क्लब (विशेष गरी थाइल्यान्डका क्लबहरू)सँग सम्पर्क गरिरहेका छौं।’
यी मैत्रीपूर्णमध्ये एक खेल अक्टोबर २ मा ढाकाको बङ्गुबन्धु नेसनल स्टेडियममा आयोजना गर्ने योजना बनाइएको छ। यदि उक्त मिति तय भयो भने अर्को खेल अक्टोबर ४ मा हुने सम्भावना छ। दुई खेलबीच कम्तीमा तीन दिनको रिकभरी समय आवश्यक रहेको अवाल बताउँछन्।
हङकङले एएफसी छनोटअघि जापान, दक्षिण कोरिया र चीनजस्ता एसियाका बलिया टिमसँग खेलेको छ। ती खेलले हङकङको प्रतिस्पर्धात्मक अनुभवलाई बलियो बनाएको छ।
तर, फिफा वरीयतामा आफूभन्दा मात्र ८ स्थान माथि रहेको (१७६ नेपाल र १८४ बंगलादेश) नेपालसँगको खेलमार्फत त्यही स्तरको तयारी गर्न नसक्ने अवालको तर्क छ।
त्यसैले यसका अतिरिक्त क्लबसँग अतिरिक्त खेल आयोजना गर्न लागेको हो। उनी भन्छन्,‘हामीले हङकङको तयारी देख्यौं। हङकङले जापान, साउथ कोरिया, चीनसँग खेलेको छ। हामीले भने नेपालसँग मात्र खेल्न पाउनेछौं। त्यसैले हामीले अक्टोबरमा अर्को खेल राख्ने निर्णय गरेका छौं।’
सेप्टेम्बरमा नेपालसँग हुने खेलमा बंगलादेशका प्रमुख खेलाडी हम्जा चौधरी, शमित शोमे, फाहमिदुल र क्यूबा मिचेल खेल्ने छैनन्।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)