काठमाडौं । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतसँग दुवै खेल उसैको मैदानमा खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको कार्यसमिति बैठकले कुवेतसँगको दुवै खेल उसैको मैदानमा खेल्ने निर्णय गरेको हो ।
नेपालको एकमात्र दशरथ रंगशाला बिस २०७२ सालमा गएको महाभुकम्पका कारण भत्किएको र त्यसको पुननिर्माण सेप्टेम्बरसम्म नसकिने हुँदा एन्फाले पहिलो 'होम गेम' कुवेतमै खेल्ने निर्णय गरेको हो । एन्फाले एएफसीसँग छलफल गरेर निर्णय गरेको जनाएको छ ।
छनोटको समूह 'बी' मा रहेको नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग होम गेम खेल्ने तालिका रहेको छ । अब नेपालले उक्त खेल कुवेतमा तोकिएको मितिमा खेल्नेछ । यस्तै नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ ।
यस्तै एन्फाले चाईनिज ताईपे र जोर्डनसँग भने होम एण्ड अवे खेल सट्टापट्टा गरेर खेल्ने निर्णय गरेको छ । अब नेपालले चाईनिज ताईपे र जोर्डनसँग पहिले उसैको मैदानमा अवे खेल खेल्नेछ ।
नेपालले सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो । तर, अब उक्त दुवै खेल नेपालले पहिले उसैको मैदानमा खेल्नेछ । चाईनिज ताईपेसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ ।
त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।