काठमाडौं । नेपाल टी २० लिग च्याम्पियनको विजेता टिम लुम्बिनी अल स्टार्सको समकक्षी टिम डालास अल स्टार्सले अमेरिकाको फ्लोरिडामा हुन लागेको यूएस ओपन क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
जसका लागि नेपालबाट आधा दर्जन खेलाडीलाई यो प्रतियोगिता खेल्नका लागि बोलाइएको छ ।
अमेरिकाको फ्लोरिडामा हुने प्रतियोगिता डिसेम्बर आठ देखि १६ तारिखसम्म हुने प्रतियोगिताका लागि साविक उपविजेता डालास अलस्टार्सले तयारी पुरा गरेको छ ।
यो पटकको प्रतियोगिताका लागि डालास अलस्टार्सले नेपालबाट ६ खेलाडीलाई प्रतियोगिता खेल्न निम्तो गरेको छ ।
जसमा अनिल शा, आरिफ शेख, आशिफ शेख, ललित राजवंशी, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी रहेका छन । दिपेन्द्र र अनिलले लुम्बिनी अल स्टार्सबाट नेपाल टी २० खेलेका थिए । जसमा दिपेन्द्रले टिमको कप्तानी पनि गरेका थिए ।
आठ टिमको सहभागिता रहेको प्रतियोगिताको पुुरस्कार राशी दुई लाख ५० हजार डलर रहेको छ । यो प्रतियोगिताका लागि नेपालबाट बोलाइएका खेलाडी आउने नआउने भन्ने टुंगो भने लागि सकेको छैन । उनीहरुको भिषा नभएका कारण भिषा लगाएर आउने संभावना रहेको डालास अल स्टार्सले जनाएको छ । जसका लागि नेपाल क्रिकेट संघ क्यानले पनि समन्वय गरिरहेको बताइएको छ ।
प्रतियोगितामा डालास अलस्टार्ससँगै क्लारियोन इगल्स, फ्लोरिडा स्कोर्रपियन, यूएम एमसी नाइट राइडर्स, टाइगर्स क्रिकेट क्लब, मास्टर्स वल्ड ११ क्रिकेट टिम र किंग्स म्यान तथा किंग्स म्यान एक्सको टिम रहेका छन ।
हरेक बर्ष डिसेम्बरमा हुने गरेको प्रतियोगिताको यो पटकको संस्करण १५ औं रहेको छ । प्रतियोगिताका लागि सहभागि सबै टिमले तयारी अन्तिम चरणमा पुर्याएका छन । प्रतियोगिताका लागि सबै टिमले स्टार विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन । जसमा धेरै जसो खेलाडी विभिन्न देशबाट खेलिसकेका खेलाडी रहेका छन्।