काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बागमतीले भोलि शुक्रबारदेखि महिला क्रिकेटका तीन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र बागमती प्रदेश क्रिकेट संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता, बागमती प्रदेश एलिट ट्रफी र बागमती प्रदेश द्धिपक्षिय सिरिजको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् ।
तीन प्रतियोगिताको आयोजनाबाट प्रदेशको महिला क्रिकेट टिमको निर्माण हुनेछ, साथै प्रधानमन्त्री कपका लागि खेलाडीले तयारी समेत गर्न पाउनेछन् ।
भोलि शुक्रबारबाट सुरु हुने प्रतियोगिता मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाका ६४ खेलाडीको सहभागीता रहने बताईएको छ ।
बागमती प्रदेशका विभिन्न जिल्लाका खेलाडीलाई लिएर काठमाडौं, भक्तपुर, ललितपुर, चितवन टिम तयार गरिएको छ । चितवनमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई केन्द्रमा राखेर सुरुवातमा शुक्रबारदेखि सोमबारसम्म्म महिला प्रधानमन्त्री कपको छनोट प्रतियोगिता हुनेछ ।
त्यसपछि बागमतीको रातो, हरियो र निलो टिम तयार गरेर बागमती महिला इलिट ट्रफीको सञ्चालन गरिनेछ । प्रतियोगिता गौतमबुद्ध क्रिकेट रंगशाला र मुलपानी क्रिकेटमा मंसिर ७ देखि ११ गतेसम्म हुनेछ ।
इलिट ट्रफीबाट बागमती प्रदेशको टिम तयार गरेर बागमती प्रदेशको महिला क्रिकेट टिम र विभागीय टिम एपीएफको तीन म्याचको दुईपक्षिय सिरिजको आयोजना गर्ने कार्यक्रमको तालिका रहेको छ । मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितालाई बागमतीले प्रधानमन्त्री कप महिला क्रिकेटको तयारीको रुपमा पनि लिएको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट पुस १ गतेबाट सञ्चालन गर्ने क्यानको तयारी छ ।

प्रधानमन्त्री कपका लागि प्रदेशको महिला टिम छनोट गर्न र खेलाडीलाई प्रतियोगिताका लागि तयारी गराउन प्रदेश खेलकुद र प्रदेश क्रिकेट संघ मिलेर झण्डै दुई हप्ता चल्ने तीन प्रतियोगिता सुरु गर्न लागेका हुन् ।
बागमतीको सोही महिला टिमले फागुन २४ गतेदेखि हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा सहभागी गराउने बागतमी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिएका छन् ।