लामोसाँघु। सागर रामुडामुको दुई गोलसँगै साँगाचोक यूथ क्लबले सिन्धुपाल्चोक जिल्ला लिग सहज जित हासिल गरेको छ।
लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा साँगाचोकले न्यू जेनेरेसन क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
साँगाचोकको जितमा सागर रामुडामुले दुई र कप्तान सुन्दर श्रेष्ठले एक गोल गरे। खेलको चौथो मिनेटमै गोल गर्दै कप्तान सुन्दरले साँगाचोकलाई शुरूआती अग्रता दिलाए।
१२औँ मिनेटमा सागरले गोल गर्दै खेलमा साँगाचोकलाई २-० ले अगाडि बढाए। ७६औँ मिनेटमा सागरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए।
जितसँगै समूह ‘ए’ मा रहेको साँगाचोकले २ खेलबाट ३ अंक जोडेको छ। पहिलो खेलमा चौतारा स्पोर्टिङ क्लबसँग साँगाचोक ४-२ गोल अन्तरले पराजित भएको थियो। जेनेरेसनले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ।