काठमाडौँ। ब्राजिलियन भेट्रान डिफेन्डर थियागो सिल्भा पूर्वक्लब फ्लुमिनेन्समा बसाइ सर्ने भएका छन्। लन्डन क्लब चेल्सी र फ्लुमिनेन्स दुवैले आधिकारिक रूपमै सिल्भाको स्थानान्तरणको घोषणा गरेका हुन्।
सन् २०२० को अगस्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट फ्रि ट्रान्सफरमा प्रिमियर लिगमा उनी अनुबन्धित भएका थिए। १५१ खेल खेलिसकेका ३९ वर्षीय सिल्भाले चेल्सीबाट च्याम्पियन्स लिग, क्लब विश्वकप र यूईएफए सुपर कप जितेका छन्।
चेल्सीसँग सिल्भाको सम्झौता सिजनको अन्त्यमा समाप्त हुन लागेको थियो। केही समयअघि उनी पूर्वक्लब फ्लुमिनेन्समा फर्कने हल्ला पनि चलेको थियो। उनी सन् १९९८ मा फ्लुमिनेन्सको युवा टोलीमा आबद्ध भएका थिए।
त्यसपछि उनी सन् २००१ मा ब्राजिलकै आरएस फुटबल क्लबको युवा टोलीमा अनुबन्ध भएका थिए। सन् २००२ मा सोही क्लबको सिनिअर टोलीमा उनले डेब्यू गर्ने अवसर प्राप्त गरेका थिए।
त्यसपछि सिल्भा जुभेन्टूडे, पोर्चुगिज क्लब पोर्टो ‘बी’ र रसियन क्लब डाइनामो मस्को हुँदै सन् २००६ मा फ्लुमिनेन्स नै फर्किएका थिए। सन् २००९ सम्म फ्लुमिनेन्समा बिताएका उनले १०८ ब्राजिलियन सिरी ‘ए’ खेलेका थिए। जसमा उनले ९ गोल गरे।
सन् २००९ मा फ्लुमिनेन्स छाडेका सिल्भा इटालियन क्लब एसी मिलानमा अनुबन्ध भए। त्यसपछि पीएसजी हुँदै सिल्भा सन् २०२० मा उनी चेल्सी भित्रिएका हुन्।
जुलाई १ मा आधिकारिक रूपमा भित्र्याउनुअघि उनलाई फ्लुमिनेन्ससँग प्रशिक्षण गर्न अनुमति दिइएको छ। ३९ वर्षीय सिल्भाले यस सिजन चेल्सीका लागि थप ३ खेल खेल्न सक्नेछन्।
सिजनको अन्तिम दिन माउरिसियो पोचेटिनोको टोलीले बोर्नमाउथको सामना गर्नेछ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने खेलमार्फत सिल्भाले चेल्सीबाट बिदा लिने छन्।