काठमाडौँ। इङ्लिस प्रिमियर कप आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले क्लबलाई शीर्ष स्थानमा रहेर यस सिजन अन्त्य गर्न निक्कै चुनौतीपूर्ण हुने स्वीकार गरेका छन्।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएपछि उनले उक्त प्रतिक्रिया दिएका हुन्। एलियान्ज एरिनामा बुधबार राति सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेगमा पाहुना टोली आर्सनलाई १-० गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिख अन्तिम चारमा प्रवेश गरेको थियो।
बायर्नको जितमा जोशुआ किमिचले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ६३औँ मिनेटमा राफेल गुरेरियाको पासमा गोल गरेका थिए। समग्रमा आसर्नलमाथि बायर्नले ३-२ गोल अन्तरको जित हासिल गर्यो। पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको थियो।
एक साथ दुई प्रतियोगिताको उपाधि दौडमा रहेको आर्सनललाई एकै हप्तामा दोस्रो पटक धक्का लागेको हो। केही दिनअघि मात्रै आर्सनल प्रिमियर लिगमा एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित भएको थियो।
उक्त नतिजासँगै आर्सनलले म्यान्चेस्टर सिटीलाई उछिन्दै शीर्ष स्थानमा उक्लिने मौका गुमायो। ३२ खेल खेलेको सिटीको ७३ र समान खेल खेलेको आर्सनलको ७१ अंक छ। अब लिगमा ६ खेल मात्रै बाँकी छ।
अर्टेटा अब सम्पूर्ण ध्यान प्रिमियर लिगमा केन्द्रित गर्न चाहन्छन्। उनले आफ्ना खेलाडीहरूलाई बायर्नसँगको हार भुलेर शनिबार वुल्भ्सविरुद्ध हुने खेलका लागि तयार रहन निर्देशन दिएका छन्।।
'हामीलाई सुन्दर खेल पस्किन पर्नुपर्ने चुनौती छ। ६ खेल खेल्न बाँकी छ र हामी सिटीभन्दा दुई अंक पछाडि छौँ। यो सबैका लागि धेरै गाह्रो तालिका हो। तर, हामीले वुल्भ्सलाई पराजित गर्ने छौँ भन्नेमा मलाई आश छ,' टीएनटी स्पोर्ट्ससँग कुरा गर्दै अर्टेटाले भने।
आर्सनललाई अनुभवी खेलाडीको कमी रहेको उनले स्वीकार गरे। तर, धेरै अनुभव भएको बायर्नविरुद्ध राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो। पहिलो लेगमा दुई गोल खानु नै हारको प्रमुख कारण रहेको उनले बताए। यद्यपि, दोस्रो लेगमा सुधारिएको प्रदर्शन गरेको उनको दाबी थियो।
' पहिलो लेगमा रक्षात्मक खेल्न सकेनौँ र बक्समा केही गल्ती गर्यौँ। तर, आज त्रुटिको मार्जिन शून्य थियो,' उनले भने।