काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीको बेलायत भ्रमण अनिश्चित भएको छ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न टोली मंगलबार बिहान ९ बजे उड्ने तय थियो। तर, भिसा नभएको कारण टोली उड्न नपाएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश साहले खेलपाटीसँग कुरा गर्दै टोलीलाई मंगलबार राति २ बजेसम्म उडाउने जानकारी दिएका थिए। तर, मंगलबार राति अबेरसम्म पनि भिसा नआएको एन्फाका एक पदाधिकारीले बताए।
‘खै प्रवक्ताज्यूले के भन्नुभयो मलाई थाहा छैन। तर, खेलाडी र अफिसियलको भिसा अहिलेसम्म आएको छैन। त्यसैले अहिलेसम्म उनीहरू उड्न पाएका छैनन्। अझै भ्रमण अनिश्चित नै छ,’ ती पदाधिकारीले खेलपाटीसँग भने।
एन्फा महासचिव किरण राईले मंगलबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई भिसा प्रक्रिया पूरा गर्न आफ्नो प्रतिनिधि दिल्लीस्थित बेलायती दूतावासमा पठाएको जानकारी दिएका थिए।
उनका अनुसार टोलीमा २३ खेलाडी र ७ अफिसियल गरी कुल ३० जना रहने छन्। यस्तै, उक्त मैत्रीपूर्ण खेल हेर्न एन्फाका ५ भीआईपी र अन्य १५ जना बेलायत उड्न लागेका छन्।
उनीहरू सबैको भिसाका लागि एन्फाले बेलायती राजदूतावासमा सिफारिस गरेको छ। तर, मंगलबारसम्म पनि दूतावासले भिसा प्रक्रिया अगाडि नबढाएको ती पदाधिकारीले बताए।
‘हिजो एक प्रतिनिधि पठाएका थियौँ, तर काम भएन। ती प्रतिनिधि आज पनि भिसाको काम गर्न दूतावास जान्छन्। आज चाहिँ काम हुन्छ कि भन्ने आशा छ। आज भिसा आए रातिसम्म टोलीलाई उडाउने तयारी गरेका छौँ,’ उनले भने।
नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग खेल्न लागेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिखमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इङ्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। यो टोलीले इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।
दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ।