इटहरी । मनाङ मर्स्याङ्दी क्लब इटहरीमा जारी १२ औं संस्करणको इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा आइतबार भएको दोश्रो क्वाटरफाइनलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब भारतलाई २-० गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको हो ।
मनाङको जितमा आफिज ओलावाले नायक बने । खेलको दुवै गोल उनले गरेका थिए ।
खेलको १६ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । शिशिर लेखीको क्रसपासमा उनले जाली चुमाए ।
पहिलो हाफमा १-० को अग्रता बनाएको मनाङले दोश्रो हाफमा समेत १ गोल थप्यो । खेलको ७८ औं मिनेटमा आफिजले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
त्यसबाहेक खेलमा दुवै टोलीले केही राम्रा मुभहरुलाई सदुपयोग गर्न सकेनन् । खेलको तेश्रो मिनेटमा अरुण तामाङको प्रहार मनाङका गोलरक्षक विशाल सुनारको हातबाट फुत्किएपनि दिनेश राजवंशीले गोललाइनबाट क्लियर गरिदिए ।
१३ औं मिनेटमा मनाङका शिशिरले लामो दुरीबाट गरेको प्रहार क्रस बारमा लागेर फर्कियो । ४५ औं मिनेटमा आफिजको पासमा फ्रयाङ्कलिन कुटेको प्रहार कञ्चनजंघाका डिफेन्डरले क्लियर गरिदिए । ६४ औं मिनेटमा कञ्चनजंघाका कप्तान सन्दिप लिम्बुको हेडर बाहिरियो ।
६५ औं मिनेटमा शिशिरको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ६९ औं मिनेटमा प्रवेश कुँवरको पासमा दिपक राईको हेडर गोलरक्षक निगम सिंहले पञ्च गरेर बचाए । ७१ औं मिनेटमा अफिजको हेडर गोलरक्षकले सहजै नियन्त्रणमा लिए । ७४ औं मिनेटमा कञ्चनजंघाका अनिता राई प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो । इन्जुरी समयमा अञ्जन विष्टले गरेको प्रहार गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।
खेलमा दुई गोल गरेका आफिज म्यान अफ दि म्याच हुँदै नगद १० हजार प्राप्त गरे ।
खेलपछि कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले पराजयका बाबजुद पनि आफ्ना खेलाडी उत्कृष्ट खेल देखाएको बताए । उनले व्यहोरेको दुवै गोलमा असन्तुष्टी व्यक्त गरे । उनले टिमको विङ्गरहरु परिपक्व नहुँदा पाएका केही राम्रा अवसरहरु सदुपयोग नभएको बताए । मनाङ नेपालको उत्कृष्ट टोली भएको बताउँदै क्षेत्रीले विपक्षीहरुको कमजोरीलाई सदुपयोग गरेर स्कोर गर्ने रणनिति सफल नभएको बताए ।
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खेल मैदानमा पानीकै कारणले केही असहज भएपनि विपक्षी टोलीको खेल उत्कृष्ट भएको बताए । विपक्षी टिमको फिटनेसमा भएको कमजोरीको फाइदा लिन सफल भएको बताए । पूर्वमा चल्ने खेपका कारण खेलाडीहरु थकित भएकाले सोचे अनुरुपको खेल नभएको बताए ।
आयोजकहरुको व्यवस्थापन र खेलमैदानमा उत्कृष्ट भएको उनले बताए । धेरै खेल भएकाले अञ्जन लगायतका केही अनुभवी खेलाडीहरुलाई बेञ्चमा राखिएको उनले बताए । विपक्षी टोलीसंग मनाङका खेलाडीहरुले भरौलमा खेलेको कारण उनीहरुको कमजोरीलाई उपयोग गरेको तामाङले बताए ।
प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सोमबार झापाको रोलिङ क्लब धुलाबारी र अफ्रिकी टोली एभेनियर फुटबल क्लबबिच खेल हुनेछ ।