नवराज चौलागाई
निजगढ । निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगीताको उपाधि नेपाल खेलकुद क्लब रौतहटले जितेको छ ।
शनिबार भएको फाइनलमा नवजनजागृति युवा क्लव सिमरा बारालाई ३-१ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लब विजेता बनेको हो ।
नवजनजागृतिमाथि सहज जित हासिल गरेको नेपाल खेलकुदका म्याक्सवेलले ११ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । खेल अवधिभरी नवजनजागृतिमाथि हावी रहेको नेपाल खेलकुदका लागि ३५ औं मिनेटमा फोडे फोफनाले गोल गर्दै अग्रता दोब्बर बनाए । लगत्तै ४२ औं मिनेटमा फोफनाले नै गरेको गोलले नेपाल खेलकुदले पहिलो हाफमै ३-० को अग्रता बनायो ।
दोश्रो हाफमा पनि थुप्रै अवशरहरु सृजना गरेको नेपाल खेलकुद गोल गर्न भने सफल रहेन । नवजनजागृतिको लागि खेलको इन्जुरी समयमा टोनिस सिनो हाङले एक गोल फर्काए ।
नेपाल खेलकुदले उपाधि सहित १ लाख पचास हजार रुपैंया प्राप्त गर्यो भने उपबिजेता नव जनजागृतिले ७५ हजार रुपैंया प्राप्त गर्यो ।
प्रतियोगिताको उपाधि निजगढका मेयर सुरेश कुमार खनालले हस्तान्तरण गरे ।
फाईनल खेलको म्यान अफ द म्याच नेपाल खेलकुदका फोफना घोषित भए । म्यान अफ द म्याच घोषित फोफनाले दुई हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट गोलरक्षक निजगढका रविन बस्नेत,डिफेन्स नवजनजागृतिका सागर चौलागाई,मिडफिल्डर नेपाल खेलकुदका रोशन पुरी,स्ट्राइकर नेपाल खेलकुदका म्याक्सवेल र उदयीमान खेलाडीको उपाधि निजगढका संजित धामीले प्राप्त गरे ।
विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले जनही ५/५ हजार रुपैंया प्राप्त गरे ।