पोखरा । मनाङ मर्स्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले दुबै गोल गरेको थियो ।
खेलको ६४ औं मिनेटमा रुपेशले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। ओलावालेको पासमा रुपेशले सहजै गोल गरेका हुन् ।
त्यसपछि खेलको ८७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २-० को जित दिलाए । उनले पुलिसका दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका हुन् । उनी म्यान अफ दि म्याच समेत चुनिए ।
अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । पुलिस भने बाहिरिएको छ ।
यस अघि एपीएफ बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।