काठमाडौं । खेलपाटी आजदेखि सुरु हुने युरोपेली च्याम्पियन्स लिगको समूह चरणका विश्लेषण गर्ने प्रयासमा छ र अब त्यसको चौथो तथा अन्तिम भाग ।
हामीले यो विश्लेषण बेलायती पत्रिका द गार्डियनको मदतले गरेका हौं ।
समूह ‘जी’
यो समूहमा त्यस्ता टिम छन्, जसको नाम हेरेर यसलाई प्रतियोगिताकै सबैभन्दा कमजोर टिम मान्न सकिन्छ, यो समूहमा खासै ठूला नाम कुनै पनि छैन् ।
यो अर्थमा यस टिमका चार टिम भाग्यमानी पनि छन् ।
अनि भन्न सकिन्छ, यसै कारण यो समूहमा चर्को प्रतिस्पर्धा पनि हुनेछ, समान खाले टिम भएको नाताले ।
यो समूहमा लिलेलाई वरीयताका बेला ‘पट वान’ प्राप्त भएको थियो, तर यो नै सबैभन्दा कमजोर टिम हो ।
युरोपा लिग जितेपछि सेभिया पनि आफैमा कमजोर छ, किनभने उसले स्पेनी लिगमा सातौं स्थान मात्र हात पार्न सकेको थियो, पोहोर सिजन ।
यस्तै कथा जर्मन प्रतिनिधि उल्भ्सबर्गको पनि रहेको छ । सायद यो समूहको सबैभन्दा बलियो टिम नै आरबी साल्जबर्ग हो ।
समूहमा स्थानको अनुमान : १. साल्जबर्ग, २. सेभिया, ३. उल्भ्सबर्ग र ४. लिले ।
समूह ‘एच’
गत सिजन जेनिथले रुसी लिगमा तीन खेल मात्र गुमायो र सजिलै लिग उपाधि जित्यो ।
यो उसले लिग जितेको लगातार तेस्रो अवसर हो । तर पनि समूह ‘एच’ मा उसको सम्भावना कमै छ, भलै चेल्सी र युभेन्ट्सले रुसी प्रतिद्वन्द्वीलाई कमजोर आँक्न मिल्दैन ।
खासमा यो समूह हो, डिफेन्डिङ च्याम्पियन चेल्सीको ।
चेल्सी पोहोर सिजनको तुलना अझ बलियो भएको छ, विशेषत: रोमेलु लुकाकुको आगमनका कारण ।
त्यसैले अनुमान गर्न सकिन्छ, चेल्सीलाई यो समूहमा केही गाह्रो हुने छैन् । तर यसको ठीक विपरित क्रिस्टियानो रोनाल्डो गएयता युभेन्ट्स पहिलोको जस्तो टिम रहेन् ।
तर पनि स्तरीयताको आधारमा युभेन्ट्स माथि नै छ ।
समूहमा स्थानको अनुमान : १. चेल्सी, २. युभेन्ट्स, ३. जेनिथ र ४. माल्मो ।