काठमाडौं । आजदेखि युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन सुरु हुँदैछ र सुरुमा हुनेछ, लिग चरणका खेल ।
कुल ३२ टिमलाई आठ समूह विभाजन गरिएको छ । यस्तोमा प्रत्येक समूहमा चार चार टिम छन् र तिनले एक अर्काविरुद्ध दुई पल्ट खेल्नेछ, ‘होम’ र ‘अवे’ का रूपमा ।
क्लब फुटबलको प्रतियोगितामध्ये यसलाई सबैभन्दा अब्बल दर्जाको मानिन्छ ।
अब खेलपाटीले तिनै प्रत्येक समूहको विश्लेषण गर्ने प्रयास गर्नेछ, द गार्डियनको मद्दतले ।
यो विश्लेषण चार भागमा हुनेछ र प्रत्येक भागमा दुई समूहको विश्लेषण गर्ने प्रयास हुनेछ । सँगै अनुमान गरिनेछ, प्रत्येक समूहको पहिलो र दोस्रो स्थानमा आउने टिम कुन कुन हुनेछन् ।
अनि तेस्रो र चौथो स्थानमा चाहिं कुन कुन टिम आउने छन् ।
समूह ‘ए’
यो समूह आफैमा निकै कठिन छ, किनभने यसमा त्यस्ता दुई टिम छन्, जसले पछिल्ला दुई सिजन फाइनल खेलेका थिए ।
यस्तो भनेको म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) । सँगै दुई वर्ष अगाडि सेमिफाइनल खेलेको आरबी लाइपजिग पनि यसै समूहमा छ ।
पछिल्लो सिजनको सेमिफाइनलमा सिटी र पीएसजी भिडेका थिए ।
निकै धनी मान्न मिल्ने यी दुई क्लबको त्यस भिडन्त सिटीको पक्षमा रह्यो ।
समूह चरणमा सिटीले विरलै समस्या बेहोर्ने गरेको छ । उसका लागि नकआउट चरण नै समस्या हुने गरेको छ, पेप ग्वार्डिओला आएयता पनि ।
पीएसजी पनि आफैमा बलियो भएको छ, लियोनल मेस्सी आएयता ।
सायद लाइपजिग यसअघिको सिजनमा जस्तो बलियो छैन् ।
समूहमा स्थानको अनुमान : १. म्यानचेस्टर सिटी, २. पीएसजी, ३. आरबी लाइपजिग र ४. क्लब ब्रुग ।
समूह ‘बी’
समूह ‘बी’ मा त्यस्ता तीन टिम छन्, जसको परिचय पूर्व विजेता रहेको छ ।
अनि एक यस्तो टिमले जसले तीन पल्ट फाइनलमा हार बेहोरेको छ । एटलेटिको मड्रिडले गत सिजन रियल मड्रिड र बार्सिलोनामा रहेको कमजोरीको फाइदा उठाएर स्पेनी ला लिगा जितेको थियो ।
तर युरोपमा एटलेटिकोको पछिल्लो प्रदर्शन उत्कृष्ट रहने गरेको छैन् ।
लिभरपुलले गत सिजन राम्रो गर्न सकेन, किनभने उसका अधिकांस खेलाडी घाइते थिए ।
अब प्रश्न हुनेछ, के यो संयोग मात्रै थियो कि प्रवृत्ति ? गत सिजन पोर्टोले युभेन्ट्स र च्याम्पियन बनेको चेल्सी जस्ता टिमलाई हराएको थियो ।
एसी मिलान भने सन् २०१४ यता पहिलो पल्ट च्याम्पिन्स लिगमा खेल्दैछ ।
समूहमा स्थानको अनुमान : १. लिभरपुल, २. एटलेटिको, ३. पोर्टो र ४. मिलान ।