काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन कप्तान अन्जन बिष्टले निर्णायक गोल गरे ।
जितपछि ललितपुरका प्रशिक्षक राजु तामाङले टिम राम्रो बनेको बताउँदै अब लाखे जागेको बताए ।
'आजको खेलमा सुरुवातमा केहि गार्हो भयो । पहिलो रोजाईका डिफेन्डर निरज बस्नेत नहुदा डिफेन्स लाईनमा समस्या थियो । तर, दोस्रो हाफमा हामीले राम्रै खेल्यौं,' तामाङले भने, 'अब टिम राम्रो बनेको छ । भोलिको खेलमा पनि हामी राम्रो खेल्छौं । अब लाखे जागेको छ ।'
अब ललितपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग खेल्नेछ । ललितपुर र काठमाडौंबीचको खेल भोलि (बिहीबार) हुनेछ । यस खेलको विजेताले फाइनलमा धनगढी एफसीसँग खेल्नेछ ।
प्रशिक्षक तामाङले विपक्षी टिमले समेत राम्रो खेलेको बताए ।
'विपक्षी टोलिले पनि अन्य खेल भन्दा आजको खेलमा राम्रो खेलेको थियो । उनीहरुले अवसर सिर्जना नगरेको हैन । तर, हाम्रो गोलकिपर अर्पण कार्कीले राम्रो खेल्यो,' उनले भने ।