फिक्कल। दोस्रो संस्करणको माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिता बैशाख अन्तिम साताबाट हुने भएको छ।
माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषद्को आयोजनामा प्रतियोगिता बैशाख २५ देखि ३१ गतेसम्म हुन लागेको हो। माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारस्थित बालगुरू खेल मैदान सञ्चालन हुने प्रतियोगितामा इलामका १० पालिकाको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेताले २ लाख ११ हजार १११ र उपविजेताले १ लाख २१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ। ९ साइडमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमले आफ्नो पालिका भित्रका खेलाडीहरू मात्र समावेश गर्न पाउने आयोजक समितिका सचिव महेश सापकोटाले जानकारी दिए।
पालिकाभन्दा बाहिरका खेलाडीहरू टिममा समावेश भएको पुष्टि भए स्वतः टिम खारेज हुने उनले बताए। प्रतियोगिताको ड्र बैशाख २२ गते गरिने भएको छ। प्रतियोगिताअघि परिषद्ले पालिकास्तरीय टिम छनोटका लागि बैशाख १९ देखि २१ गतेसम्म वडास्तरीय प्रतियोगिता सञ्चालन गर्ने अध्यक्ष देवेन्द्र पौडेलले जानकारी दिए।
परिषद्ले गत वर्षबाट पालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्न थालेको हो। पहिलो संस्करणमा फाकफोकथुम गाउँपालिकालाई टाई ब्रेकरमा हराउँदै इलाम नगरपालिकाले उपाधि जितेको थियो।