काठमाडौँ। जोनी बेयरस्टोको शतकप्रेरित पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित हासिल गरेको छ।
शुक्रबार राति सम्पन्न खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो।
जितसँगै आठौँ स्थानमा रहेको पञ्जाबले ९ खेलबाट ६ अंक जोडेको छ। ८ खेल खेलेको कोलकाता भने १० अंकसहित दोस्रो स्थानमा यथावत् छ।
कोलकाताले दिएको २६२ रनको लक्ष्य पञ्जाबले ८ बल बाँकी रहँदै २ विकेट गुमाएर पूरा गर्यो।
पञ्जाबका जोनीले अविजित रहँदै सर्वाधिक १०८ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र ९ छक्का प्रहार गरे। प्रभसिमरन सिंह ५४ र राइली रुसो २६ रनमा आउट हुँदा शशांक सिंह ६८ रनमा अविजित रहे।
कोलकाताका सुनील नारायणले १ विकेट लिए।
त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनायो।
फिल साल्टले सर्वाधिक ७५ रन बनाए। ३७ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै, सुनील नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए।
पहिलो विकेटका लागि उनीहरूले १३८ रनको साझेदारी गरेका थिए। वेंकटेश अय्यर ३९, कप्तान श्रेयस अय्यर २८ र आन्द्रे रसेल २४ रनमा आउट हुँदा रमनदीप सिंह ६ रनमा अविजित रहे।
पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक २ विकेट लिए। सैम करन, हर्ष पटेल र राहुल चाहरको नाममा १/१ विकेट रह्यो।