काठमाडौं । काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले डिफेन्डर र गोलकिपरको कमजोरीको कारण धनगढी एफसीसँग पराजित हुनु परेको बताएका छन् ।
पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को पहिलो प्लेअफमा मंगलबार काठमाडौं धनगढीसँग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित भएको थियो ।
हारपछि प्रशिक्षक महर्जनले डिफेन्डर र गोलकिपरको कमजोरी औल्याए ।
'आजको खेल जितेर फाइनल पुग्ने लक्ष्य थियो । हामीले खेलमा अग्रता लिएका थियौं । डिफेन्डर र गोलकिपरको कमजोरीले गर्दा हामीले तीन मिनेट भित्र गोल खान पुग्यौ,' उनले भने ।
प्रशिक्षक महर्जनले इलिमिनेटरमा राम्रो खेल्दै फाइनल पुग्न प्रयास गर्ने समेत बताए ।
'हामी बाहिरिएका छैनौँ । अझै एक खेल बाँकी छ । अब अर्को खेलमा राम्रो गर्ने प्रयास रहने छ,' महर्जनले थपे, 'आजको खेलमा खेलाडीले धेरै राम्रो खेले । आजको खेलबाट म खुसी छु ।'
इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।
ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।