काठमाडौं । काठमाडौं रेजर्स शीर्ष स्थानमा रहदै पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा रहदै प्ले अफमा पुगेको हो ।
जितपछि काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जन खुसी देखिए । प्रशिक्षक महर्जनले चोटका बाबजुत खेलाडीहरुले राम्रो खेलेको बताए ।
'पहिलो पटक आयोजना भएको लिगमा हामी शीर्ष चारमा पुगेकोमा खुसी छौं,' उनले भने, 'आज केही खेलाडी चोट भएकाले अन्य खेलाडीलाई पनि परिक्षण गरेका थियौं । सफल भयौ ।'
अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग मंगलबार खेल्नेछ ।
प्रशिक्षक महर्जनले प्ले अफमा धनगढीविरुद्ध राम्रो खेल्ने समेत बताए ।
'हाम्रो प्ले अफमा धनगढीसँग खेल छ । लिगमा धनगढीसँग हारेका थियौ । अब प्ले अफमा राम्रो गर्ने छौं,' उनले भने ।
चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले टिमले काठमाडौंविरुद्ध राम्रो खेलेको बताए । तर, उनले रेफ्री निर्णय राम्रो नभएको बताए ।
'खेल हाम्रो राम्रै थियो । रेफ्रीको निर्णय राम्रो भएन । यो मैले मात्र हैन सबैले भनिरहेका छन्,' उनले भने, 'उहाँहरुको पनि स्तर एक पटक जाच्नै पर्छ ।'