विराटनगर। सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफले उपाधि जितेको हो। जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ।
जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिशन राई र धनबहादुर श्रेष्ठले समान १/१ गोल गरे। पेमा युवा क्लबको तर्फबाट सान्त्वना गोल मिलन राईले फर्काए।
यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो। त्यसबेला साइनो स्पोर्ट्स क्लब रानी मोरङलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै एपीएफले उपाधि जितेको थियो।
शुरूआती अग्रता घरेलु टिम पेमा युवा क्लबले लियो। खेल शुरू भएको ११औँ मिनेटमा मिलन लिम्बुले गोल गरे। सुरज सुब्बाले निकालेको क्रस पासलाई मिलनले गोलमा परिणत गरे।
घरेलु टिम पेमाले गोल गरेको दुई मिनेट बित्न नपाउँदै एपीएफले गोल गरी खेल बराबरीमा फर्काए। १३औँ मिनेटमा एपीएफका भरत कपालीले गोल गरे। पेमाका गोलकिपर अरुणले टच गरेर रिबाउन्डमा आएको बललाई भरतले आकर्षक गोल गरे।
पहिलो हाफमा १–१ गोलको बराबरी भयो। दोस्रो हाफदेखि आक्रामक खेल्दै एपीएफका दिशन राईले ६०औँ मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए। हरि कार्कीले डीबक्स भित्रबाट दिएको क्रस पासलाई दिशनले जाली चुमाए।
अग्रता दोब्बर बनाएको १४ मिनेट बित्न नपाउँदै धनबहादुर श्रेष्ठले गोल गरी टिमको जित सुनिश्चित गरे। दिशनले निकालेको पासलाई धनबहादुरले गोल गरेका थिए।
पेमा युवा क्लबले बारम्बार पाएको गोल गर्ने अवसर खेर पाल्दा उपविजेता बन्यो। उपविजेता बनेको पेमाले १ लाख ११ हजार १११ रुपैयाँमा चित्त बुझायो।