काठमाडौँ। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा दिल्लीले १० रनको जित हासिल गरेको हो। दिल्लीले दिएको २५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन मात्रै बनाउन सक्यो।
मुम्बईका तिलक बर्माले सर्वाधिक ६३ रन बनाए। ३२ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे। कप्तान हार्दिक पाण्ड्या ४६, टिम डेभिड ३७, सूर्यकुमार यादव २६ र इशान किशन २० रनमा आउट हुँदा ल्यूक वूड ९ रनमा अविजित रहे।
दिल्लीका मुकेश कुमार र रसिख सलामले ३/३ विकेट लिए। खलील अहमदको नाममा भने २ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २५७ रन बनाएको थियो।
दिल्लीका जेक फ्रेजर मक्गर्कले सर्वाधिक ८४ रन बनाए। २७ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे।
शाई हफव ४१, अभिषेक पोरेल ३६ र कप्तान ऋषभ पन्त २९ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स ४८ र अक्षर पटेल ११ रनमा अविजित रहे।
मुम्बईका ल्यूक वूड, जसप्रीत बुमराह, पीयुष चावला र मोहम्मद नबीले १/१ विकेट लिए।
जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ। ९ खेल खेलेको मुम्बई ६ अंकसहित नवौँ स्थानमा छ।