काठमाडौं । बुटवल लुम्बिनी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै बुटवल प्ले अफमा पुगेको हो ।
जितपछि बुटवलका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले दोस्रो हाफमा गरेको परिवर्तनले खेलमा जित निकाल्न सफल भएको बताए ।
'आज हामीलाई जित्नै पर्ने थियो । बराबरीले शीर्ष चारमा पुग्ने थिएनौं । जित्यौं प्ले अफमा पुगेका छौँ,' उनले भने, 'दोस्रो हाफमा हामीले केहि परिवर्तन गरेका थियौं । जस्को कारण हामी स्कोर गर्न सफल भयौं ।'
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरेका थिए ।
यस्तै प्रशिक्षक श्रेष्ठले धनगढीको खेल पहिलेको जस्तो नभएको बताए ।
'दुबैको खेल राम्रो थिएन । धनगढीको पनि पहिला जस्तो थियो आज त्यस्तो खेल थिएन,' उनले भने, 'हाम्रो प्रदर्शनबाट म खुसी छैन । हामीले पहिलो खेल जस्तो राम्रो गर्न सकेका छैनौँ ।'
यस्तै श्रेष्ठले टिमको भाग्य परिवर्तन हुन्छ की भनेर विराज महर्जनलाई कप्तानी दिएको बताए ।