विराटनगर। चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ।
विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो।
जितसँगै पेमा युवा क्लबले शनिबार हुने फाइनलमा उपाधिको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग खेल्नेछ।
जितको लागि पेमा युवा क्लबको तर्फबाट मिलन राई, समीर राई र कुलदीप कार्कीले गोल गरे। प्रहरीको तर्फबाट सान्त्वना गोल उज्ज्वल राईले फर्काए।
खेलको २९औँ मिनेटमा प्रहरीका उज्ज्वल राईले गोल गर्दै अग्रता दिलाएका थिए। तर, प्रहरीको अग्रता १४ मिनेट पनि टिक्न सकेन। दोस्रो हाफदेखि पेमा युवा क्लबले आक्रामक खेल्दै ४३औँ मिनेटमा डिबक्स भित्रबाट मिलन राईले हेडमार्फत आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए।
६१औँ मिनेटमा पेमाका समीर राईले गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफपछि सौरव लिम्बुको ठाउँमा मैदान प्रवेश गरेका समीरले मिलन राईले निकालेको क्रस पासलाई गोलमा परिणत गरे। अग्रता दोब्बर बनाएको चार मिनेट बित्न नपाउँदै पेमाका कुलदीप कार्कीले गोल गर्दै टिमको जित सुनिश्चित गरे।
प्रतियोगिताको प्लेयर अफ दी म्याच पेमा युवा क्लबका मिलन राई घोषित भए। उनले नगद तीन हजार रुपैयाँ पाए। मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउनेछन्।