काठमाडौँ। फिल फोडेनको दुई गोलप्रेरित म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा लिभरपुललाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ।
अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै सिटी शीर्ष स्थानमा रहेको आर्सनलसँग १ अंकले पछि छ। ३४ खेल खेलेका आर्सनलको ७७ अंक रहेको छ। एक खेल कम खेलेको सिटीको ७६ र तेस्रो स्थानमा रहेको लिभरपुलको ७४ अंक रहेको छ।
खेलको १७औँ मिनेटमा केभिन डी ब्रुएनाको गोलमार्फत सिटीले शुरूआती अग्रता लिएको थियो। उनले काइल वाकरको पासमा गोल गरेका हुन्।
२६औँ मिनेटमा फोडेनले अग्रता दोब्बर बनाए। ३४औँ मिनेटमा बर्नार्डो सिल्भाको पासमा फोडेनले अग्रता ३-० मा पुर्याए।
६२औँ मिनेटमा वाकरको पासमा जुलियन अल्भारेजले गोल गर्दा सिटी ४-० ले विजयी भयो।