स्याङ्जा। बाल विद्या र पर्वत इङ्लिस बोर्डिङ स्कुल आठौँ अरहन्त मेमोरियल कपको उपाधिका लागि भिड्ने भएका छन्।
वालिङ खेल मैदानमा आइतबार सम्पन्न सेमिफाइनलमा टाईब्रेकरमा ज्ञानोदयलाई पराजित गर्दै बाल विद्या र साइन भिलेजलाई पराजित गर्दै पर्वत उपाधिनजिक पुगेका हुन्।
पहिलो सेमिफाइनलमा बाल विद्याले ज्ञानोदयलाई टाईब्रेकरमा ५-३ गोल अन्तरले पाखा लगायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाईब्रेकरमार्फत गरिएको हो।
बाल विद्याका स्यामुयल थापा, निशान थापा, शिशिर थापा (जर्सी नम्बर ११), आयुष चापागाईँ र शिशिर थापा (जर्सी नम्बर ९) ले गोल गरे।
ज्ञानोदयका सन्जोक राना, तेजप्रसाद गुरुङ र असुन आलेले गोल गरे। तर, समीर गुरुङले बललाई गोलमा परिणत गर्न सकेनन्।
दोस्रो सेमिफाइनलमा पर्वतले साइन भिलेजलाई २-१ गोल अन्तरले हरायो। खेलको पहिलो मिनेटमै यथार्थ मल्ले गोल गर्दै साइनलाई अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेटपछि नै रमन थापाले पर्वतलाई खेलमा फर्काए।
२३औँ मिनेटमा श्याम परियारले गोल गर्दै पर्वतलाई जित दिलाए।