काठमाडौं । बुटवल लुम्बिनी एफसीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले सुरुवातमै गोल खाएको कारण ललितपुर सिटी एफसीसँग पराजित हुनु परेको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार बुटवल ललितपुरसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
खेलपछि बोल्दै प्रशिक्षक श्रेष्ठले सुरुवातमै गोल खाने टिमको गल्ति आजको खेलमा दोहोरिएको बताए ।
'आजको खेल सुरुमै गोल खायौं । यस अघिको खेलमा पनि त्यस्तै भएको थियो । त्यहिँ दोहोरियो,' उनले भने, 'आजको खेलबाट सन्तुष्ट छैन।'
ललितपुरसँगको हारसँगै बुटवल लिगको पाँचौं स्थानमा झरेको छ । बुटवलले ५ खेलमा ५ अंक जोडेको छ ।
यस्तै प्रशिक्षक श्रेष्ठले प्ले अफमा पुग्न अन्तिम खेलमा राम्रो खेल्ने बताए ।
बुटवलले अन्तिम खेलमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
'प्लेअफ पुग्न अब अन्य टोलीको नतिजामा भर पर्नु पर्ने भएको छ । अन्तिम खेलमा राम्रो गर्नु पर्छ । तर, टोलीको प्रदर्शन खस्की रहेको छ,' उनले भने ।
प्रशिक्षक श्रेष्ठले पहिलो खेल खेलिरहेका फरवार्ड अभिषेक रिजालबाट अपेक्षा गरेको जस्तो प्रदर्शन नभएको बताए ।