काठमाडौँ। प्रशिक्षक डेभिड मोयसले सिजनको अन्त्यमा वेस्टह्याम छाड्ने भएका छन्।
उनको सम्झौता यही सिजनको अन्त्यमा सकिँदै छ। क्लबले सोमबार उनले सिजनको अन्त्यमा वेस्टह्याम छाड्ने जानकारी दिएको हो।
डिसेम्बर २०१९ मा वेस्टह्याम फर्किएका उनले आफ्नो दोस्रो कार्यकाल सम्हालिरहेका छन्। पछिल्लो ४ वर्षमा उनले टोलीलाई गत सिजन युरोपा कन्फरेन्स लिगको उपाधि दिलाएका थिए।
डेभिडको प्रस्थान आपसी सहमतिमा भएको क्लबले जानकारी दिएको छ। डेभिड क्लब बलियो स्थितिमा रहेको दाबी गरेका छन्।
‘म सन् २०१९ मा फर्किएको भन्दा क्लब बलियो स्थितिमा छ। दोस्रो पटक वेस्टह्याममा सम्हाल्दा क्लब रेलिगेसन जोनभन्दा एक स्थान माथि थियो,’ आइतबार चेल्सीसँग ५–० को हार बेहोरेको मोइसले भने, ‘म चेल्सीसँग ५–० ले पराजित भएपछि पछिल्लो समय खराब नतिजाका कारण आलोचनाको घेरामा परेको थिए।’
६१ वर्षीय डेभिडले यसअघि प्रिमियर लिगमा एभर्टन, म्यानचेस्टर युनाइटेड र सन्डरल्यान्ड सम्हालेका थिए। स्पेन र रियल मड्रिडका पूर्वप्रशिक्षक जुलेन लोपेटेगुइ डेभिडको स्थान लिने वेस्टह्यामले जनाएको छ।
लोपेटेगुइले अन्तिम पटक प्रिमियर लिगमा उल्भ्सह्याम्पटन सम्हालेका थिए। उनले यो सिजन शुरू हुनुभन्दा केही दिनअघि क्लब छोडेका थिए।