काठमाडौँ। सूर्यकुमार यादवको शतकसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शानदार जित हासिल गरेको छ।
सोमबार राति सम्पन्न खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो। हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
जितसँगै नवौँ स्थानमा उक्लिएको मुम्बईको १२ खेलबाट ८ अंक रहेको छ। हैदरावाद ११ खेलबाट १२ अंकसहित चौथो स्थानमा छ।
मुम्बईका सूर्यकुमारले अविजित रहँदै १०२ रन बनाए। ५१ बल खेलेका उनले १२ चौका र ६ छक्का प्रहार गरे। तिलक बर्मा ३७ रनमा अविजित रहे। अन्यको भने प्रदर्शन राम्रो हुन सकेन।
भुवनेश्वर कुमार, मार्को यानसन र प्याट कमिन्सले १/१ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनायो।
हैदरावादका ओपनर ट्रेविस हेडले सर्वाधिक ४८ रन बनाए। ३० बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। नितिशकुमार रेड्डी २० र मार्को यानसन १७ रनमा आउट हुँदा प्याट कमिन्स ३५ र सनवीर सिंह ८ रनमा अविजित रहे। अन्यको भने प्रदर्शन राम्रो हुन सकेन।
मुम्बईका हार्दिक पाण्ड्या र पीयुष चावलाले ३/३ विकेट लिए। अंशुल कंबोज र जसप्रीत बुमराहले १/१ विकेट लिए।