काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
ललितपुरलाई जित दिलाउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे ।
जितपछि ललितपुरका प्रशिक्षक राजु तामाङले यस जितका लागि टिमले धेरै संघर्ष गर्नु परेको बताए ।
'जितका लागि हामीले धेरै संघर्ष गर्नु पर्यो । चार खेलमा सोचेको जस्तो प्रदर्शन हुन सकेको थिएन । आज जित्यौ खुसी छौँ,' तामाङले भन, 'आजको खेल पनि गाह्रो थियो । खेलाडीले चोट बोकेका थिए । सब्सिच्युटमा खेलाडी पनि सकिएको थियो । उनीहरुलाई रोक्न गाह्रो थियो तर खेल जित्यो ।'
जितसँगै ललितपुर लिगको चौंथो स्थानमा उक्लिएको छ । ललितपुरले ५ खेलमा ६ अंक जोडेको छ ।
चार खेलपछि पहिलो जित निकालेको ललितपुरले प्लेअफ पुग्ने सम्भावना समेत कायम राखेको छ ।
अब ललितपुरले अन्तिम लिग खेलमा विराटनगर सिटीसँग खेल्नेछ । उक्त खेलमा राम्रो गर्ने समेत प्रशिक्षक तामाङले बताए ।
'अबको खेल राम्रो गर्छौ । विराटनगरसँगको खेल हामीलाई गाह्रो हुन्छ । लिगमा विराटनगर बलियो देखिएको छ । हाम्रो खेल नराम्रो हैन । स्कोर मात्र ननिस्केको हो । त्यो सुधार्दै लैजाने छौँ,' उनले भने ।
मुख्य प्रशिक्षक प्रदिप हुमागाईलाई बर्खास्त गरेपछि ललितपुरको टिम तामाङले हेर्ने मौका पाएका हुन् । उनले पहिलो खेलमै टिमलाई जित समेत दिलाए ।