काठमाडौं । निषेधाज्ञा जारी छ । फुटलब भने चलिरहेको छ । सामान्य फुटबल हैन, फ्रेन्चाईज फुटबल ।
फ्रेन्चाईज फुटबलको नाम हो, नेपाल सुपर लिग । छोटकरीमा एनएसएल ।
सामान्यता खेलकुदमा फ्रेन्चाईज भन्ने बित्तिकै पैसाको खेल बुझिन्छ । एनएसएलको पहिलो सिजन धेरै धमाका भएन । तर जति भएको छ, सामान्य छैन । एनएसएल खेल्दैछन्, ७ टिम । सबै टिमका मार्की खेलाडी छन् । अधिकांश मार्की खेलाडीले ६ लाख बढी रकम बुझेका छन् । औसतमा एक खेलाडीले प्रति खेल १ लाख पाएका छन् । खेल मात्र २२ दिनको हो । पैसा लाखको छ । यस्तो हुदैनथ्यो त, फ्रेन्चाईजको चर्चानै कहाँ हुन्थ्यो र ।
अझ हरेक खेलमा म्यान अफ दी म्याचले पाएका छन्, २५ हजार रुपैयाँ । राईजिङ खेलाडीलाई प्रति खेल १० हजार । म्याच फिको कुरै बेग्लै । जति सफलता, बोनश थपिने । उपाधि जिते, अझै ठुलो लाभांश ।
खेलाडीको बसाई फाईभ स्टार होटलमा छ । सामान्यता राष्ट्रिय टिमले खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा फाईभ स्टारको सुविधा पाउथे । अहिले हरेक फ्रेन्चाईज टिमले खेलाडीलाई सो सुविधा दिएका छन् । ब्राण्डहरुको आबद्धता अझ लोभलाग्दो छ । टिमको जर्सी प्रायोजन गर्न फुटवेयर कम्पनी मरिमेटेर लागेका छन् । लिनिङको जर्सीमा एफसी चितवन सजिएको छ । एडिडास हुँदै केटीएम सिटी जस्ता अन्तराष्ट्रिय ब्राण्ड खेलाडीले लगाएका छन् ।
एनएसएल छोटो तयारीमै सञ्चालनमा आयो । कोभिडका कारण प्रतियोगिता अनिश्चित थियो । तर प्रतियोगिता पुरा हुने भयो । छोटो तयारी टिमहरुले पाए । उनीहरुले राम्रो टिम बनाउन र तयारी गर्न सक्दो मेहनत र पैसा खर्चिए । समय पाएको भए, टिमहरु अझ राम्रो तयारी गर्थे । यसले समग्रमा फ्रेन्चाईजकै ब्राण्ड बढ्थ्यो ।
एनएसएलले कसलाई फाईदा भो ? अथवा कसलाई घाटा भो ? बहश जारी छ । तर पक्का कुरा पहिलो संस्करणको एनएसएलको सबैभन्दा धेरै फाईदा खेलाडीलाई भएको छ ।
पहिलो कुरा कोभिडका कारण धेरै खेलाडीका बुट थन्किएका थिए । खेल्न पाएका थिएनन् । प्रतियोगिता थिएन । त्यस्ता खेलाडीले माथिल्लो स्तरको फुटबल खेल्न पाए ।
अर्को कुरा कर्पोरेट आबद्ध भएका कारण खेलाडीलाई औसत भन्दा राम्रो पैसा पाए । आयआर्जन गरे । धेरथोर कमाए । यसले खेलाडीको अर्थोपार्जन पक्कै राम्रो भएको छ ।
तेस्रो कुरा, फुटबल र खेलाडी अर्को स्तरमा पुगेको छ । खेलाडीले युरोपेली खेलाडी सम्मिलित टिमबाट आफुलाई प्रमाणित गर्न पाएका छन् । सिक्न पाएका छन् । ड्रेसिङ्ग रुम सेयर गर्न पाएका छन् । अब अन्तराष्ट्रिय मञ्चमा खेल्न जादाँ गोरो छालासंग नेपाली खेलाडी मनोबल पक्कै सानो हुने छैन ।
झण्डै डेढ सय खेलाडी यस फ्रेन्चाईजमा आबद्ध भएका छन् । कोभिडका कारण राष्ट्रिय टिमको मात्र खेल भईरहेको अवस्थामा फ्रेन्चाईज फुटबलमार्फत खेलाडीले समेत खेल्न र कमाउने मौका पाएका छन् ।
तर केही खेलाडीले विभिन्न कारणले पहिलो संस्करणको एनएसएल खेल्न पाएनन् । कोही अक्सनमा बिकेनन् । कतिले चोटका कारण नाम फिर्ता लिए । कोही अक्सनमै परेनन ।
अक्सनमा १ सय ४९ जना खेलाडी थिए । ए, बी, सी र डी श्रेणीका खेलाडीबाट ७ टोलीमा ९८ खेलाडी बिके । अक्सनबाट ९८ र मार्की ७ खेलाडी बिक्री हुदाँ केही प्रतिभाशाली खेलाडी टिममा अट्न सकेनन् । कोही बिक्री भएनन् ।
राष्ट्रिय टोलीबाट खेल्दै आएका रोहित चन्द र अनन्त तामाङले अक्सनमा नामनै दिएनन् । रोहित इन्डानेशियाको लिगमा व्यस्त छन् । एसियाकै उत्कृष्ट मध्यको एक लिग खेलिरहेका रोहितका लागि एनएसएल प्राथमिकतामा नपर्नु सामान्य हो । अनन्तले भने अक्सनबाट नाम फिर्ता लिए । थ्री नेसन्स कप खेलेपछि अनन्तले आराम गर्ने र एनएसएलमा ‘रिक्स’ नलिने मुड बनाए । उनी विश्वकप छनोटमा आफुलाई तयार गर्न चाहन्छन् । उनले एक परिपक्क खेलाडीको व्यवहार देखाएका छन् ।
यस्तै, चोटका कारण बिक्रम लामा, बिमल घर्ति मगर, सुजल श्रेष्ठ, सुरज विक, त्रिदेभ गुरुङ लगायतले पहिलो संस्करणको एनएसएल गुमाउन पुगे । बिक्रम, विमलले भने आयोजकलाई नामनै बुझाएनन् । कारण, दुवै जना खेलाडी कतारमा खुट्टाको शल्यक्रिया सहित उपचार गरिरहेका छन् । सुजल, सुरज र त्रिदेभले भने अन्तिम समय आएर चोटकै कारण एनएसएल गुमाउन पुगे ।
राष्ट्रिय टोलीका सदस्य सुभाष गुरुङलाई कुनै पनि टोलीले लिएन । चौधरी, रेजिन देबेन्द्र तामाङ र सुमन अर्याल जस्ता खेलाडीको नामनै अक्सनमा परेन । युवा खेलाडी रेजिन सुब्बा अक्सनमा बिकेनन् ।
भारतीय आईलिग खेलेका राष्ट्रिय टोलीका सदस्य अभिषेक रिजाल अन्तिम समयमा बुटवल लुम्बिनीमा आबद्ध भए । प्रकाश बुढाथोकीलाई कुनै टोलीले आखाँ लगाएनन् । अभिषेक र प्रकाशसँगै रोहित र धनगढीमा आबद्ध गोलरक्षक किरण कुमार लिम्बुलाई आयोजकले ‘आईकोनिक’ प्लेयरको रुपमा राखेको थियो ।
आयोजकको नियमले गर्दा आइकोनिक खेलाडीले लिगनै गुमाउन पर्यो । आयोजकले प्रतियोगितामा विदेशी खेलाडी तीनमात्रै खेलाउन पाउने नियम राखेको थियो ।
टिमले आईकोनिक खेलाडी राखेको अवस्थामा भने विदेशी खेलाडी दुई जनामात्र खेलाउन पाउने भए ।
जसले गर्दा अभिषेक र प्रकाशले सुरुवातमा अवसर पाएनन् । किरणलाई आईकोनिक खेलाडीको रुपमा अनुबन्धन गरेको धनगढीले दुई मात्रै विदेशी खेलाडी टोलीमा समावेश गरेको छ ।
चोटका कारण केही खेलाडीले लिग गुमाउँदा ए श्रेणीमा रहेर पनि बिक्री नभएका केहि खेलाडीलाई एनएसएलमा अवसर पाए । राष्ट्रिय टोलीबाट खेल्दै आएका जर्ज प्रिन्स कार्की, पूर्व कप्तान विराज महर्जन र रवि पासवान अक्सनमा बिक्री भएनन् । तर खेलाडी चोट बोक्दा अन्तिममा उनीहरुले प्रतियोगिता खेल्न पाए ।
पोखरा थण्डर्सका सुजल श्रेष्ठ घाईते हुँदा रवि पासवान टोलीमा पुगे । बुटबल लुम्बिनीका सुरज विकले चोट बोक्दा विराजले स्थान बनाए । प्रतियोगिता दौरान चितवनका डिफेण्डर विकास खवास घाईत भए । उनको स्थानमा चितवनले आर्मीबाट खेल्दै आएका जर्ज प्रिन्सलाई टोलीमा समावेश गरायो । यसैबीच एनएसएलमा घरेलु फुटबलका केही राम्रा अनुहार देखिएनन् । प्रर्दशन उच्च भएपनि विभिन्न कारणले केही खेलाडीले पहिलो सिजनको एनएसएल गुमाउन पुगे ।
एनएसएल गुमाएका ठुला चार नाम -
रोहित चन्द
राष्ट्रिय फुटबल टोलीका जवर्जस्त खेलाडी हुन्, रोहित चन्द । डिफेन्स होस् या मिडफिल्डर, उनी सहजै दुवै पोजिसनमा खेल्न सक्छन् । विगत केहि बर्षदेखि रोहितले एसियाकै चर्चित ईन्डोनेसियन ‘लिग वान’ खेल्दै आईरहेका छन् । क्लबलाई लिगको उपाधि सहित ब्यक्तिगत विधातर्फ सर्वाेत्कृष्ट खेलाडी चुनिएका उनी पहिलो संस्करणको एनएसएलमा देखिएनन् ।
कोरोनाले फुटबल प्रभावित बन्दा नेपालमै रहेका रोहितले थ्री नेसन्स कपको उपाधि हात पारेसँगै इन्डोनेशिया प्रस्थान गरेका थिए । एनएसएल चलिरहँदै उनको टोलीले इन्डोनेशियामा मेनपोरा कपको उपाधि हात पारेको छ ।
उनलाई ठुलो रकम खर्च गर्न घरेलु टोली तयार थिए । तर उनी इन्डोनेशियामा ब्यस्त थिए । रोहितले घरेलु लिगमा मछिन्द्र, मनाङ लगायतका क्लबबाट खेलिसकेका छन् ।
अनन्त तामाङ
एनएसएलले गुमाएको अर्काे ठुलो नाम हो, अनन्त तामाङ । अनन्तले एनएसएल गुमाएको भन्दा पनि एनएसएलले अनन्त गुमाएको भन्दा फरक नपर्ला । रोहित चन्द र अनन्त तामाङ स्टार खेलाडी पाउँदा एनएसएलको लोकप्रियता र स्तरीयता अझ बढ्ने थियो ।
राष्ट्रिय टोलीका नियमित र अनुभवी खेलाडी अनन्त चोटका कारण केहि समय बाहिर रहे । तर उनले रिकभरी गर्दै थ्री नेसन्स कप खेले । उनी फिफा विश्वकपको छनोट खेलका लागि तयारी गर्न चाहन्छन् । सोही कारण उनी केही समय आराम गर्ने भन्दै एनएसएलबाट नाम फिर्ता लिए ।
अनन्त थ्री नेसन्स कपमा चोटका बाबजुद मैदानमा उत्रिएका थिए । नेपाललाई घरेलु मैदानमा उपाधि दिलाउन उनले महत्वपूर्ण भुमिका खेले । घरेलु ए डिभिजन लिगमा भने अनन्तले थ्री स्टार क्लबको प्रतिनिधित्व गर्नेछन् ।
सुजल श्रेष्ठ
सुजललाई अक्सनमा ४ टोलीले किन्न जोड गरे । गोलप्रथाबाट उनी पोखरा पुगे । पूरा दुई लाखमा बिक्री भएका सुजलले अन्तिम समयमा चोट बोक्न पुगे । उनले रिक्स नलिने भन्दै एनएसएल नखेल्ने निर्णय लिए ।
लक्ष्मी हुण्डाईको स्वामित्वको पोखरा थण्डर्सले सुजललाई मैदानमा गुमाए पनि टोलीमै राख्न चाह्यो । र जिम्मेवारी दियो, टिम व्यस्थापकको ।
राष्ट्रिय टोलीका मिडफिल्डर सुजल प्लेमेकर समेत हुन् । उनको प्रदर्शन विपक्षीको लागि सधै टाउको दुखाईको बिषय बन्छ । नेपालले थ्री नेसन्स कप, १३ औं तथा १२ औं दक्षिण एसियाली खेलकुद सागमा फुटबलतर्फ स्वर्ण जित्दा सुजल टिमका मुख्य खेलाडी थिए । सुजलले ए डिभिजन लिगमा एक दशक मनाङ मस्र्याङ्दीमा बिताए । पछिल्लो सिजन उनले मछिन्द्र क्लब रोजेका थिए ।
सुभाष गुरुङ
राष्ट्रिय टोलीका सदस्य सुभाष गुरुङ पहिलोपटक भएको फ्रेन्चाईज फुटबलको अक्सनमै बिकेनन् । पछिल्लो समय ए डिभिजन र मोफसलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी अक्सनमा नबिक्दा कार्यक्रममा सहभागीनै अचम्मित भएका थिए ।
२६ वर्षीय सुभाषको नाम अक्सनमा आउँदा सहभागी टोलीले ए श्रेणीका खेलाडी पुरा गरिसकेका थिए । जसका कारण सुभाषले पहिलो संस्करणको एनएसएल गुमाउन पुगे । राष्ट्रिय टोलीका मिडफिल्डर सुभाष संकटाबाट व्यवसायीक फुटबल खेल्छन् । उनले भर्खरै संकटालाई आहा रारा गोल्डकपको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए ।
सुमन अर्याल
लेफ्ट ब्याक सुमन अर्यालले समेत एनएसएल खेल्ने मौका पाएनन् । चोटबाट गुज्रिरहेका उनको नाम प्रतियोगिताको ‘टेक्निकल सपोर्ट’ रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजकलाई दिएको थिएन ।
जसका कारण उनको नाम अक्सनमै नपुगी काटियो । एन्फा एकेडेमीका खेलाडी अर्यालले नेपालमा उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । हाल उनी त्रिभुवन आर्मी फुटबल क्लबमा आबद्ध छन् ।