काठमाडौं । कोरोना महामारीले देश ठप्प छ । तर फ्रेन्चाईज फुटबलको पहिलो संस्करण नेपाल सुपर लिग काठमाडौंको दशरथ रंगशालामा जारी छ ।
‘फ्लड लाईट’मा सञ्चालन भईरहेको एनएसएलको चौंथो चरणका खेल समाप्त भएका छन् । अहिलेसम्म विराटनगर सिटी एफसी शीर्ष स्थानमा रहेको छ । उसको ७ अंक छ । विराटनगर सिटी र काठमाडौं रेजर्सको समेत समान ७ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा विराटनगर शीर्ष स्थानमा रहेको हो ।
समान ५ अंक बनाएका बुटबल लम्बिनी र पोखरा थण्डर्सको गोल अन्तरका आधारमा क्रमशः चौथो र पाँचौं स्थानमा छन् । हालसम्म जित विहिन रहेका छन्, ललितपुर सिटी र एफसी चितवन । ललितपुर तीन बराबरीसंगै तीन अंक बनाएर छैठौं स्थानमा छ । दुई बराबरी खेलेको चितवन तालिकाको पुछारमा छ ।
एनएसएलमा सबै टिमको स्तर उस्तै देखिन्छ । नतिजा कस्तो निस्कन्छ, भन्न सकिने अवस्था छैन । युरोपदेखि छिमेकी भारतमा आईलिग खेलका खेलाडी एनएसएलमा आबद्ध छन् । एनएसएल जति अघि बढ्दैछ, उति खेल स्तरीय देखिदैछ ।
घरेलु खेलाडीदेखि विदेशी खेलाडी पहिलो संस्करणको एनएसएलमा आफ्नो प्रभाव देखाउन प्रयासरत छन् । फुटबलमा जित्न गोलनै चाहिन्छ । त्यही गोलका लागि सबै टिम संघर्ष गरिरहेका छन् । फरवार्डहरु आफुलाई प्रमाणित गर्न प्रयास गरिरहेका छन् । तालिकामा शीर्ष चारको दौडसंगै सर्वाधिक गोलकर्ताको दौड समेत एनएसएलमा देख्न सकिन्छ ।
जुन खेलाडीले गोल गरेका छन्, उनीहरुले टिमले नकआउट चरणको सम्भावना बलियो बनाएको छ । सर्वाधिक गोलकर्ताको अग्रपङ्तीमा देखिएका छन्, धनगढी एफसीका ओलादिपो ओलावाले अफिज । उनले पछिल्ला ४ खेलमा ४ गोल गरेका छन् । उनलाई पछ्याउने क्रममा विराटनगर सिटी एफसीका सन्तोष तामाङको ३ गोल गरेका छन् । विराटनगरकै विदेशी खेलाडी पेड्रो मान्जीको दुई गोल गर्दा बुटवल लुम्बिनी एफसीका लक्ष्मण रुचालले दुई गोल गरेका छन् ।
एनएसएलमा १४ खेल सकिँदा २८ गोल पूरा भएका छन् । जसमा १ गोल पेनाल्टीमा र अर्को एक गोल आत्माघाती भएको छ । तीन पेनाल्टी बचाउ भएका छन् ।
चितवनका अमित तामाङ पेनाल्टीमा गोल गर्ने एक्ला खेलाडी हुन् । पोखरा थन्डर्सका अजित भण्डारीले आत्मघाती गोलको नाम लेखाएका छन् । यस्तै, राष्ट्रिय फुटबल टोलीका गोलरक्षकत्रय किरण कुमार लिम्बु, विकेश कुथु र विशाल सुनारले एक–एक पेनाल्टी रोकेका छन् ।
जो सर्वाधिक गोलकर्ताको दौडमा छन् -
ओलादिपो ओलावाले आफिज
ओलावाले आफिज घरेलु फुटबलका लागि नयाँ नाम हैन । उनी घरेलु फुटबलका गोल मसिन हुन् । उनी अहिले धनगढी एफसीका खेलाडी बनेका छन् । नाईजेरियाली स्ट्राइकर एनएसएलको जारी प्रतियोगितामा ४ गोल सहित सर्वाधिक गोलकर्ताको दौडमा अघि छन् । उनले ४ खेलमा ४ गोल गरिसकेका छन् । पहिलो खेलमा विराटनगरविरुद्ध उनी चल्न सकेनन् । त्यसपछिका प्रत्येक खेलमा अफिजको गोल निस्किरहेको छ ।
दोस्रो खेलमा काठमाडौं रेजर्सविरुद्ध ३-० को जित निकाल्ने क्रममा उनले पहिलो हाफमै दुई गोल गरेका थिए । उनले तेस्रो खेलमा ललितपुर सिटी एफसीसँग १-१ को बराबरीमा रोकिने क्रममा एक गोल गरेका थिए । चौथो गोल चितवनलाई ३-० ले पराजित गर्ने क्रममा पुरा गरे ।
यसअघि विना रेलिगेशनको ए डिभिजन लिग खेल्ने क्रममा मनाङ मस्र्याङ्दीका आफिजले तत्कालिन थ्री स्टारका खेलाडी रन्जित धिमालसँगै सर्वाधिक ७-७ गोल गरेका थिए । उनी घरेलु फुटबलमा आएका विदेशी खेलाडी मध्य सर्वाधिक राम्रा फरवार्ड मानिन्छन् ।
सन्तोष तामाङ
राष्ट्रिय फुटबल टोलीका सदस्य सन्तोष तामाङ जारी एनएसएलमा सर्वाधिक गोल गर्ने खेलाडीको दौडमा छन् । विराटनगर सिटी एफसीको प्रतिनिधित्व गरिरहेका उनले तीन गोल गरेका छन् । त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडी उनले गरेका तीनै गोल प्रतियोगिताका उत्कृष्ट गोल मानिएको छ ।
सन्तोषले पहिलो गोल पहिलो खेलमै गरेका थिए । उनले राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण सम्मिलित धनगढी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्ने क्रममा ६९ औं मिनेटमा आकर्षक गोल गरेका थिए । त्यसपछि पोखराविरुद्ध गोलविहिन रहेका उनले बुटबल लुम्बिनीसँग २–२ को बराबरी गर्ने क्रममा थपिएको ३ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । तेस्रो गोल भने चितवनविरुद्ध ८९ औं मिनेटमा गरेका थिए ।
एनएसएलका ए श्रेणीका २६ वर्षीय मिडफिल्डर सन्तोषलाई विराटनगरले १ लाखमा किनेको थियो । उनले जारी एनएसएलमा आफुलाई उत्कृष्ट आक्रमक मिडफिल्डरको रुपमा प्रस्तुत गरिरहेका छन् ।
पेड्रो जाभियर मान्जी क्रुज
पेड्रो जाभियर मान्जी क्रुज एनएसएलमा आएका विदेशी खेलाडी मध्य सबैभन्दा प्रभावशाली फरवार्ड हुन् । विराटनगर सिटीमा आबद्ध उनले ४ खेल खेल्दा २ गोल गरेका छन् । स्पेनीस नागरिक मान्जीलाई विराटनगरका लागि भारतीय प्रशिक्षक यान ललेनै नेपालसम्म झिकाएका हुन् । भारतीय आई लिगको दुई संस्करण साथै जापानको दोस्रो डिभिजन लिगको अनुभव रहेका मान्जी सोचे अनुसार प्रदर्शन दिन सकेका छैनन् ।
लामा र शसक्त प्रहार गर्ने खुबी भएका मान्जीले पछिल्ला दुई खेलमा दुई गोल गर्दा आफ्नो लय फर्काउने कोशिस गरिरहेका छन् । मान्जीले बुटबल लुम्बिनी र चितवनविरुद्ध एक–एक गोल गरेका हुन् । दुई गोल उच्चस्तरीय रहेको थियो ।
लक्ष्मण रुचाल
घरेलु लिगमा सन्तुलित प्रदर्शन गर्ने खेलाडीमा पर्छन्, लक्ष्मण रुचाल । फ्रेन्चाईज लिगमा उनले बुटबल लुम्बिनीको प्रतिनिधित्व गरेका छन् । प्रतियोगितामा ४ खेल खेल्दा मिडफिल्डर रुचालले २ गोल गरेका छन् । एनएसएलमा अहिलेसम्म विराटनगरका मान्जी र लक्ष्मणको सामान दुई गोल गरेका छन् ।
युथ टोलीमा राम्रो प्रदर्शन गरेर शीर्ष डिभिजनको फुटबलमा आएका उनी राम्रा फुटबलर मानिन्छन् । पछिल्लो लिग फुटबलमा संकटा क्लबबाट प्रतिनिधित्व गरेका उनले दुबै लिगमा समान दुई–दुई गोल गरेका थिए ।
हाल फ्रन्चाईज लिगमा समेत उनको दुई गोल रहेको छ । लक्ष्मणको आफ्नो दोस्रो अर्थात चितवन एफसीविरुद्ध गोल गर्दै प्रतियोगितामा खाता खोलेका हुन् । चौथो खेलमा उनले विराटनगरविरुद्ध गोल गरे