एजेन्सी । एसी मिलान इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा बेनेभेन्टोलाई २-० गोलले पराजित गर्दै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।
बेनेभेन्टोको मैदानमा १० खेलाडीमा समेटिए पनि मिलानले जित निकालेको हो ।
खेलको १५ औं मिनेटमा फ्रान्कीको पेनाल्टीबाट मिलानले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ३३ औं मिनेटमा सान्ड्रोले रातो कार्ड पाएपछि मिलान पहिलो हाफमै १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ४९ औं मिनेटमा राफायल लियोले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।
यस्तै खेलको ६१ औं मिनेटमा बेनेभेन्टोका जियानलुकाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।
बेनेभेन्टोलाई हराएसँगै शीर्ष स्थानमा फर्किएको मिलानले १५ खेलमा ३७ अंक जोडेको छ ।
बेनेभेन्टो १८ अंक जोडेर १० औं स्थानमा रहेको छ ।