झापा। शिवसताक्षी नगरपालिकाबाट धेरै राष्ट्रियस्तरका खेलाडी जन्मिएका छन्। नेपाली उमेर समूह साथै सिनिअर टोलीमा पनि अहिले बिस्तारै शिवसताक्षीका खेलाडी अटाउँदै छन्।
नेपाली राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य साथै अनुभवी डिफेन्डर अनन्त तामाङ शिवसताक्षीले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी हुन्।
त्यस्तै, केही समय अगाडि भएको विश्वकप छनोटमा बहराइनविरुद्ध नेपाली सिनिअर टोलीबाट डेब्यू गरेका सौभाग्य राई (सञ्जित) पनि शिवसताक्षीका उदाउँदा प्रतिभावान् युवा खेलाडी हुन्।
नेपालको राष्ट्रिय युवा टोली र नेपालीको प्रतिष्ठित लिग ‘ए’, ‘बी’, ‘सी’ खेल्ने धेरै खेलाडी शिवसताक्षीले जन्माएको छ। हालै एन्फाले आयोजना गरेको यू–१३ खेलाडी छनोटमा जिल्ला, प्रदेश र केन्द्रीयस्तरमा छनोट भई शिवसताक्षी नगरपालिकाबाट आयुष भट्टराई र लुप्लिहाङ लिङ्देन एन्फा एकेडेमीमा पुगेका छन्।
उनीहरूलाई प्रशिक्षणसहित शिक्षाको प्रबन्ध एन्फले नै गर्नेछ। एन्फाले ग्रामीण र स्थानीयस्तरबाट युवा प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ छनोट प्रतियोगिता सञ्चालन गरेको थियो।
देशैभरका हजारौँ प्रतिस्पर्धाबाट सर्वोकृष्ट भई दुई जना एन्फा एकेडेमीमा पर्नु गौरवको विषय भएको नगर खेलकुद समिति, शिवसताक्षी नगरपालिकाका अध्यक्ष सुरज रिङ्गालुङ राई बताउँछन्।
सन् २०२१ मा भएको छनोटमा पनि शिवसताक्षी नगरपालिका–७ का ईश्वर कार्की केन्द्रीयस्तरमा छनोट भएका थिए। उनी अहिले विभागीय टोली एपीएफ फुटबल क्लबको एकेडेमीमा आबद्ध छन्।
हालै भएको यू–१३ छनोटको पहिलो चरणमा (जिल्लास्तरीय) मा शिवसताक्षीबाट ७५ जना खेलाडी सहभागी भएका थिए। त्यसमध्येबाट दोस्रो चरण अर्थात् प्रदेशस्तरीयका लागि ११ जना खेलाडी छनोट भए।
पछिल्लो समय शिवसताक्षीमा फुटबलको माहोल धेरै राम्रो हुँदै छ। यहाँ देशको जर्सी लगाएर आफ्नो ठाउँलाई चिनाउने सपना बोकेका युवा प्रतिभा धेरै छन्।
यसको एक उदाहरण हो, हालै सम्पन्न यू–१३ छनोटमा शिवसताक्षी नगरबाट ७५ जना युवा खेलाडी जिल्लास्तरीय छनोटमा सहभागी हुनु। शिवसताक्षीमा युवा प्रतिभा धेरै भएकाले फुटबलमा लगानी साथै अभ्यासको राम्रो व्यवस्था गर्न सके धेरै राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने खेलकुदप्रेमी युवा घनेन्द्र कार्की बताउँछन्।
‘यहाँ क्षमतावान् खेलाडी धेरै छन्। शिवसताक्षी नगरपालिकाले प्रत्येक वडासँग सहकार्य गरेर अभ्यासको माहोल सिर्जना गर्नसके अझ धेरै युवाले आफ्नो क्षमता प्रस्फुटन गर्न पाउँछन्,’ उनी भन्छन्,‘हामीसँग प्रत्येक वडामा स्तरीय खेलमैदान छन्, अब वडाले प्रशिक्षक र खेल सामाग्रीको व्यवस्था गरेर प्रशिक्षण दिनसके अझ धेरै खेलाडी एन्फा एकेडेमी हुँदै राष्ट्रिय टिमसम्म पुग्नेछन्।’