काठमाडौँ। नियमविपरित अर्कै क्लबमा आबद्ध खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले आरसी ३२ फुटबल एकेडेमी र स्वयम्भू क्लबको अंक घटाएको छ।
एन्फाले आइतबार दुई क्लबलाई पत्र पठाउँदै अंक घटाएको जानकारी गराएको हो। एन्फाका अनुसार ‘बी’ डिभिजनको श्री भगवती यूथ क्लबमा दर्ता भएका बबिन बोहरालाई खेलेको भन्दै एन्फाले आरसी ३२ को अंक घटाएको छ।
आरसी ३२ का जर्सी नम्बर १६ का खेलाडी वविन वहरा (बबिन) ‘बी’ डिभिजन क्लब श्री भगवतीमा दर्ता भएको भन्दै सामाजिक युवा क्लबले उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा बबिन भगवतीमा दर्ता रहेको पाइएको एन्फाले जनाएको छ।
क्लबमा आबद्ध खेलाडीले खेल्नुपूर्व कम्तीमा ४८ घण्टा अगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकोले कारबाही गरिएको एन्फाल जनाएको छ।
लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार उनलाई अनुशासनको कारबाही गरी म्याच नम्बर २४ रद्द गरिएको एन्फाले जनाएको छ। योसँगै उक्त खेलमा सामाजिक युवा क्लबलाई ३-० गोल अन्तरको नतिजा दिने निर्णय गरिएको छ।
यस्तै, श्री भगवती क्लबमै दर्ता भएको अशोक दर्लामीलाई स्वयम्भू क्लबले खेलाएको भन्दै कारबाही गरेको छ। बागमती युवा क्लबले जर्सी नम्बर २६ लगाएर खेलिरहेका अशोकले फुकुवाबिनै खेलेको भन्दै उजुरी गरेको थियो।
उक्त उजुरीपश्चात् छानबिन गर्दा उनी दोषी पाइएकोले कारबाही गरिएको एन्फाले जनाएको छ। योसँगै स्वयम्भूले बागमतीविरुद्ध खेलेको म्याच नम्बर २३ रद्द गरिएको छ। उक्त खेलमा बागमतीलाई ३-० गोलको नतिजा दिने निर्णय गरिएको छ।