काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको छ।
आरसी ३२ फुटबल एकेडेमीका सुमनबहादुर मगर तथा बबिन बोहरा र स्वयम्भू क्लबका अशोक दर्लामीलाई ‘सी’ डिभिजन प्रतियोगिता अवधिभर एन्फा अनुशासन समितिले प्रतिबन्ध लगाएको हो।
खालीवारी युवा फुटबल क्लबले आरसी ३२ बाट खेलिरहेका जर्सी नम्बर ४ का खेलाडी सुमन ‘बी’ डिभिजनको झापा फुटबल क्लबमा दर्ता भएको भन्दै उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा सुमनलाई बैशाख ४ गते रिलिज गरेको देखिएकाले कारबाही गरिएको एन्फाले जनाएको छ।
यस्तै, आरसी ३२ का जर्सी नम्बर १६ का खेलाडी वविन वहरा (बबिन बोहोरा) ‘बी’ डिभिजन क्लब श्री भगवतीमा दर्ता भएको भन्दै सामाजिक युवा क्लबले उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा बबिन भगवतीमा दर्ता रहेको पाइएको एन्फाले जनाएको छ।
क्लबमा आबद्ध खेलाडीले खेल्नुपूर्व कम्तीमा ४८ घण्टा अगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकोले कारबाही गरिएको एन्फाल जनाएको छ।
लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार उनलाई अनुशासनको कारबाही गरी म्याच नम्बर २४ रद्द गरिएको एन्फाले जनाएको छ। योसँगै उक्त खेलमा सामाजिक युवा क्लबलाई ३-० गोल अन्तरको नतिजा दिने निर्णय गरिएको छ।
यस्तै, श्री भगवती क्लबमै दर्ता भएको अशोकलाई स्वयम्भूले खेलाएको भन्दै कारबाही गरेको छ। बागमती युवा क्लबले जर्सी नम्बर २६ लगाएर खेलिरहेका अशोकले फुकुवाबिनै खेलेको भन्दै उजुरी गरेको थियो।
उक्त उजुरीपश्चात् छानबिन गर्दा उनी दोषी पाइएकोले कारबाही गरिएको एन्फाले जनाएको छ। योसँगै स्वयम्भूले बागमतीविरुद्ध खेलेको म्याच नम्बर २३ रद्द गरिएको छ। उक्त खेलमा बागमतीलाई ३-० गोलको नतिजा दिने निर्णय गरिएको छ।
एन्फाले ३ खेलाडीलाई नै जनही १० हजार र लिगका बाँकी सबै खेलमा प्रतिबन्ध लगाउने निर्णय गरिएको एन्फाले जनाएको छ।