एजेन्सी । म्यान्चेष्टर सिटीले प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको क्लब लिभरपुलसंग दुरी घटाउने प्रयास जारी राखेको छ ।
शनिबार राति न्युक्यासल युनाईटेडमाथि जित निकाल्दै सिटीले शीर्ष क्लब लिभरपुलसंगको दुरी ५ अंकमा झार्यो ।
गोलको खडेरी भोगिरहेको सिटीले न्युक्यासललाई हराउन दुवै हाफमा एक एक गोल गर्यो ।
पहिलो गोल खेलको १४ औं मिनेटमा गुन्डोगनले गरे । दोस्रो गोल फेरान टोरेसले ५५ औं मिनेटमा परे । जितसंगै सिटी तालिकाको पाँचौ स्थानमा उक्लियो ।
सिटीका केही राम्रा प्रहारमा न्युक्यासलका गोलकिपर कार्ल डार्लो बाधन बने । उनले पहिलो हाफमा केभिन डी ब्रोएनका दुई राम्रा प्रहारको बचाउ समेत गरेका थिए ।
बैकल्पिक खेलाडी सर्जियो अग्युरोले खेलको अन्तिम समयमा गरेको प्रयासलाई समेत डार्लोले बिफल बनाए ।
खेलमा जोन स्टोन्स र रहिम स्टर्लिङले सुन्दर अवसर खेर फालेका थिए भने बेर्नार्डो सिल्भाको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
सिजनको सुरुवातमा निकै खराब नतिजा ब्यहोरेको सिटीले पछिल्लो समय लय समातेको देखिन्छ ।
न्युक्यासलले सिटीविरुद्ध दुई प्रहार पोस्ट भित्र गरेको थियो । तर सफल हुन सकेन । पछिल्ला तीन खेलमा मात्र एक अंंक बटुलेको न्युक्यासल भने समस्यामा देखिन्छ ।
न्युक्यासल १८ अंक सहित तालिकाको १२ औं स्थानमा छ । सिटी २६ अंक सहित तालिकाको शीर्ष ५ मा उक्लिएको छ ।