एजेन्सी । प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा आज (शनिबार) राति चेल्सी र आर्सनल भिड्दैछन् ।
रेलिगेशन जोन नजिक रहेको आर्सनल र उपाधि भिडन्तमा पछि परेको चेल्सीलाई लिगमा पुनरागमन गर्न जित आवश्यक छ ।
आर्सनलले घरेलु मैदान ईमिरेट्स स्टेडियममा चेल्सीलाई आतिथ्यता प्रदान गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति सवा ११ बजे सुरु हुदैछ ।
तिघ्राको चोट कारण पछिल्ला खेलहरु गुमाईरहेका पियरी ईम्रिक अबुमियाङमा सबैको नजर हुनेछ ।
ग्याब्रियल मार्टिनेली समेत चोटका कारण चेल्सीविरुद्ध अनुपस्थित रहदाँ ग्रानिक जाका तीन म्याचको प्रतिबन्धपछि मैदान फर्कदैछन् ।
चेल्सीका विङ्गगर हाकिम जियाच समेत ह्यामस्ट्रिङ्गको समस्याबाट निको भईसकेका छैनन । सोही कारण उनी आर्सनलविरुद्धको खेलमा देखिने छैनन् । चोटकै कारण डिफेन्डर बेन चिलवेक र रिस जेम्स मैदान फर्कने सम्भावना कम छ ।
शनिबारनै शीर्ष स्थानको दौडमा रहेका लेस्टर सिटी र म्यान्चेष्टर युनाईटेड भिड्दैछन् । लेस्टरको घरेलु मैदानमा उत्रदै गर्दा दुवै टिम जित निकाल्दै शीर्ष स्थानको लिभरपुलसंग अंक दुरी कम गर्ने प्रयासमा हुनेछन् ।
अन्य खेलमा रेलिगेशन जोनमा रहेको फुलहमले साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्दा तालिकाको बीचमा रहेका एस्टन भिल्ला र क्रिस्टल प्यालेस आमने सामने हुनेछन् ।
उपाधि होडमा आफुलाई फर्काउन चाहेको म्यान्चेष्टर सिटीले न्युक्यासललाई आतिथ्यता गर्दा एभर्टन भने सेफिल्ड युनाईटेडको भ्रमणमा निस्कनेछ ।