एजेन्सी । एभर्टनले कोलम्बियन आक्रमक मिडफिल्डर जेम्स रोड्रिग्वेजलाई रियल मड्रिडबाट अनुबन्धन गरेको छ ।
प्रिमियर लिग क्लब एभर्टनले कालम्बियन मिडफिल्डरलाई स्पेनिस क्लबबाट २० मिलियन पाउण्डमा अनुबन्धन गरेको हो ।
२९ बर्षिया मिडफिल्डरले एभर्टनसंग दुई बर्षको सम्झौता गरेका छन् ।
उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा गोल्डेन बुट जितेपछि फ्रेन्च क्लब मोनाकोबाट रियल मड्रिडमा आबद्ध भएका थिए ।
‘एभर्टनसंग जोडिन पाउँदा म निकै खुसी छु । यस क्लबको धेरै इतिहास रहेको छ । यहाँका प्रशिक्षकले मलाइ राम्रोसंग चिन्नुहुन्छ ।’ रोड्रिग्वेजले भनेका छन् ।
‘म यहाँ धेरै चिज हासिल गर्न आएको हु । जो सबैको लक्ष्य हुने गर्दछ ।’ उनले थपे ।
‘म यहाँ राम्रो गर्नका लागि कोशिश गर्नका लागि आएको हु । म यहाँ टिमलाई जित्न मदत गर्ने र राम्रो फुटबल खेल्नका लागि आएको हु ।’ रोड्रिग्वेजले भनेका छन् ।
रोड्रिग्वेजको रियल मड्रिडसंगको सम्झौता मात्र एक बर्ष बाँकी रहेको थियो । उनले गत सिजन रियल मड्रिडबाट मात्र १४ खेलमा प्रतिस्पर्धा गर्न पाएका थिए ।
उनी तेस्रो पटक एभर्टनका प्रशिक्षक कार्लाे एन्सेलोटीको नेतृत्वमा खेल्न लागेका हुन् । यसअघि उनले रियल मड्रिड र बायर्न म्युनिखबाट एन्सेलोटीको नेतृत्वमा खेलेका थिए ।
‘म कार्लो र प्राविधिक स्टाफसंग सहमत बने । हामी यहाँ ठुलो चिज हासिल गर्न सक्छौ । मुख्य कारण भनेको एन्सेलोटीनै हुन् ।’ उनले थपे ।
‘मैले उनीसंंग पछिल्लो दुई क्लबमा राम्रो समय बिताएको छु । त्यहीनै म यहाँ आउनुको मुख्य कारण हो ।’ रोड्रिग्वेजले भने ।
एन्सेलोटीले जेम्सको बिषयमा भने, ‘जेम्सको बिषयमा सबैलाई थाहा छ । उनी एक उत्कृष्ट खेलाडी हुन् । उनीसंग प्रशस्त क्षमता छ । उनी फरवार्डलाई पर्याप्त बल उपलब्ध गराउन क्षमता राख्छन् ।’
‘उनी क्लबको परियोजनाको बिषयमा निकै उत्सुक छन् । तथ्य कुरा भनेको हामी आफुलाई अझ सुदृढ गर्न चाहन्छौ । हामी उनलाई हस्ताक्षर गर्न पाउँदा निकै उत्साहीत छौ । मैले उनलाई सहमत बनाउन धेरै समय पनि लगाईन । उनी सजिलै सहमत बनेका थिए ।’ एन्सेलोटीले थपे ।
एभर्टनका प्रशिक्षक एन्सेलोटी यस सिजन निकै महत्वकाक्षी देखिएका छन् । उनले नापोलीबाट खेल्ने ब्राजिलका एलनलाई निशुल्क र वाटफोर्डका फ्रान्सेली मिडफिल्डर अब्दुलायय डौउरेलाई अनुबन्धन गरेका छन् । सोही योजना अन्तर्गत उनले रोड्रिग्वेजलाई समेत टिममा जोडेका हुन् ।
रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले रोड्रिग्वेजलाई भविष्यको निधो गर्नका लागि प्रि–सिजनको योजनाबाट बाहिर राखेका थिए ।
एन्सेलोटी गत डिसेम्बरमा एभर्टनको कमान्ड सम्हाल्न आएका हुन् । रोड्रिग्वेजलाई अनुबन्धन गराउन उनैले सहमती गराएका थिए । इटालीयन प्रशिक्षकसंग पुन एक पटक काम गर्न रोड्रिग्वेज समेत आकर्षित देखिएका हुन् ।
रोड्रिग्वेजले रियल मड्रिडबाट दुई ला लिगा र दुई च्यम्पियन्स लिग जितेका छन् । तर पनि रियलले उनलाई दुई सिजन जर्मन क्लब बायर्न म्युनिखमा लोनमा खेल्न पठाएको थियो ।
उनी गत बर्षमात्र रियल मड्रिड फर्किएका थिए । उनले ८ पटकमात्र खेलमा अवसर पाए र एक गोल गर्न सके ।
उनी सन् २०१४ को विश्वकप पछि युरोपेली फुटबलमा आक्रमक मिडफिल्डरको रुपमा स्थापित भएका थिए । उनले पार्टो र मोनाकोमा समेत आफुलाई सफल खेलाडीको रुपमा स्थापित गरेका थिए ।
उनले २१ बर्षको उमेर अघिनै तीन सिजन पोर्चुगिज लिगको उपाधि जितेका थिए । जसका कारण उनी सन् २०१२ मा लिगको बर्ष खेलाडी अवार्डबाट पुरस्कृत भएका थिए । लगत्तै उनलाई मोनाकोले ३८ दशमलव ५ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको थियो ।
उनले मोनाकोबाट ३८ खेलमा १० गोल गर्नुका साथै १४ गोलको अवसर सिर्जना गरेका थिए । उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ६ गोल गर्नुका साथै गोल्डेन बुट प्राप्त गरे । लगत्तै उनी स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भएका थिए ।