एजेन्सी । बार्सिलोनाका पूर्व खेलाडी डेकोले कप्तान लियोनल मेस्सी बिनाको बार्सिलोना कल्पना गर्न नसकिने बताएका छन् ।
स्पेनिस पत्रिका मुण्डो डिपोर्टिभोसँग कुरा गर्दै पूर्व स्टार डेकोले मेस्सी बिनाको बार्सिलोना कल्पना गर्न नसकिने बताएका हुन् ।
कप्तान मेस्सीले क्लब छाड्ने चर्चा चलिरहेको बेला पूर्व मिडफिल्डर तथा सहकर्मी डेकोको यस्तो भनाई आएको हो ।
'हामी क्लब इतिहासको सर्वश्रेष्ठ खेलाडीको बारेमा कुरा गर्दैछौं र उसको परिवार शहरसँग जोडिएको छ । यो सजिलो छैन,' डेकोले भने, 'यो कुरा स्पष्ट छ कि ऊ जित्न चाहन्छ । हामी बिना को बार्सिलोना कल्पना गर्न सक्दैनौं तर यो हुन सक्छ ।'
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेपछि मेस्सीले क्लब छाड्ने हल्ला चलेको थियो ।
पोर्चुगलको लिस्बनमा गत शुक्रबार भएको खेलमा बार्सिलोना बायर्नसँग ८-२ गोल अन्तरले पराजित भएको थियो ।
उक्त हारपछि बार्सिलोनाले मुख्य प्रशिक्षक क्वेक सेटिनलाई बर्खास्त गर्दै डोनाल्ड कोम्यानलाई मुख्य प्रशिक्षक नियुक्ति गरिसकेको छ ।
क्लब छाड्ने हल्लाबारे मेस्सीले भने केहि बताएको छैन । तर, ३३ वर्षीय फरवार्डले नयाँ प्रशिक्षक कोम्यानसँग क्लब छाड्नेबारे बताईसकेको स्पेनिस मिडियाहरुले दाबी गरेको छ ।
पोर्चुगलका पूर्व मिडफिल्डर डेकोले मेस्सीको लागि बार्सिलोना उपयुक्त क्लब भएको उनी बस्नेमा आशावादी रहेको समेत बताए ।
'मलाई थाहा छैन मेस्सीले छाड्ने छन् तर उनले सम्झौता गरेका छन्,' उनले भने, 'मलाई लाग्छ उसले भविष्यको बारेमा सोच्नु पर्छ । यो निर्णय लिन धेरै गाह्रो छ किनकि हामी उसको जीवनको क्लबको बारेमा कुरा गर्दैछौं । यो होइन कि उ बार्सिलोनामा आएको ३/४ वर्ष भएको छ ।'