काठमाडौँ। आरसी ३२ फुटबल एकेडेमीले नियमविपरित अर्कै क्लबमा आबद्ध खेलाडी खेलाएपछि शहीद स्मारक ‘सी’ डिभिजनका ९ क्लबहरूले शुक्रबारको खेल खेल्न अस्वीकार गरेका छन्।
शुक्रबार पहिलो खेलमा १ बजे स्वयम्भू क्लबले सामाजिक यूथ क्लबसँग खेल्ने तय छ। यस्तै, दोस्रो खेलमा आरसी ३२ र सामाजिक कल्याण स्पोर्ट्स सेन्टर क्लबबीच प्रतिस्पर्धा हुँदै छ। यो खेल अपराह्न ४ बजेदेखि हुँदै छ।
यद्यपि, खेल हुन आधा घण्टाभन्दा कम समय बाँकी रहेपनि स्वयम्भू र सामाजिकका खेलाडीलाई क्लबले मैदान उतारेको छैन।
‘सी’ डिभिजन क्लबका संयोजक तथा महावीर क्लबका अध्यक्ष दिवाकर घलेको नेतृत्वमा ९ क्लबले गत बैशाख १० गते आरसी ३२ ले नियमविपरित अर्कै क्लबको खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
तर, आरसी ३२ लाई कारबाही गर्ने छाँटकाँट नदेखाएपछि बिहीबार पुनः उनीहरूले यसबारे स्मरण गराउँदै शुक्रबारको खेल नखेल्ने चेतावनी दिएका थिए।
एन्फाको खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न पाउने उल्लेख छ। तर, आरसी ३२ ले ‘बी’ डिभिजनको झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगरलाई खेलाएको भन्दै उनीहरूले कारबाहीको माग गरेका छन्।
तर, एन्फाले आफूहरूको मागलाई बेवास्ता गरेको घलेले बताए। ‘आरसी ३२ लाई कारबाही गर्नुपर्ने हो। तर, नियमअनुसार कारबाही नगरेपछि अहिले १ बजे हुने म्याच खेल्न पर्ने दुई टोलीसँगै हामी एन्फामा बसिरहेका छन्,’ उनले खेलपाटीसँग भने।
चैत २२ गते खालीबारी यूथ क्लबविरुद्धको खेलमा मगरलाई खेलाएपछि एन्फालाई पत्राचार गरेको र एन्फाबाट कारबाहीको प्रक्रियामा रहेको भन्ने मौखिक जानकारी आएको घलेको भनाइ छ। तर, आरसी ३२ ले अटेर गरेर उनलाई खेलाइरहेको घलेको भनाइ छ।
उनका अनुसार मगरले बैशाख ४ मा झापा क्लबबाट रिलिज पत्र ल्याएका थिए। उक्त दिन उनले महावीर क्लबहरुद्ध खेलेक थिए। फिफाको नियमअनुसार ४८ घन्टाअघि नै खेलाडी दर्ता हुनुपर्ने घलेको भनाइ छ।
‘फिफाको नियमलाई नमानेको पाइएपछि हामीले ध्यानकर्षण पत्र बुझाएका थियौँ। त्यो अनुसार आरसी ३२ लाई कारबाही भइरसक्नुपर्ने हो। अनि त्यो गेममा हामीले हालेको प्रोटेस लाग्ने भए लगाउनुपर्ने हो,’ उनले भने।