काठमाडौँ। शहीद स्मारक ‘सी’ डिभिजनअन्तर्गत स्वयम्भू क्लब र सामाजिक यूथ क्लबबीचको खेल एक घण्टा ढिला गरी शुरू भएको छ।
आरसी ३२ फुटबल एकेडेमी र स्वयम्भूले नियमविपरित अर्कै क्लबमा आबद्ध खेलाडी खेलाएको भन्दै ९ क्लबले खेलाडी मैदान उतार्न अस्वीकार गरेपछि खेल १ घण्टा रोकिएको थियो। स्वयम्भू र सामाजिकबीचको खेल दिउँसो एक बजेबाट शुरू हुने तय थियो।
‘सी’ डिभिजन क्लबका संयोजक तथा महावीर क्लबका अध्यक्ष दिवाकर घलेका अनुसार अखिल नेपाल फुटबल संघ एन्फका अध्यक्ष पंकजविक्रम नेम्वाङले नियमअनुसार शनिबारसम्म यसबारे बुझेर निर्णय गर्ने बचन दिएपछि खेल शुरू भएको हो।
‘हामीले पटक पटक यसबारे ध्यानाकर्षण गराएका थियौँ। तर, व्यवस्था गरेपछि आज खेल नै रोकेर पुनः ध्यानाकर्षण गरायौँ। उहाँले यसबारे भोलिसम्म निर्णय दिने भनेपछि खेल गराउन दिएका हौँ,’ उनले खेलपाटीसँग भने।
उनका अनुसार आरसी ३२ ले ‘बी’ डिभिजनको झापा फुटबल क्लबमा दर्ता भएका सुमनबहादुर मगर, श्री भगवती यूथ क्लबमा दर्ता भएका बबिन बोहरा (आरसी ३२) र सोही क्लबमा दर्ता भएका अशोक दर्लामी (स्वयम्भू)बाट खेलिरहेका छन्। यसबारे घलेको नेतृत्वमा ९ क्लबले गत बैशाख १० गते एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
तर, दुई क्लबलाई कारबाही गर्ने छाँटकाँट नदेखाएपछि बिहीबार पुनः उनीहरूले यसबारे स्मरण गराउँदै शुक्रबारको खेल नखेल्ने चेतावनी दिएका थिए।
एन्फाको खेलाडी दर्ता नियमावलीमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न पाउने उल्लेख छ। चैत २२ गते खालीबारी यूथ क्लबविरुद्धको खेलमा मगरलाई खेलाएपछि एन्फालाई पत्राचार गरेको र एन्फाबाट कारबाहीको प्रक्रियामा रहेको भन्ने मौखिक जानकारी आएको घलेको भनाइ छ। तर, आरसी ३२ र स्वयम्भूले अटेर गरेर उनलाई खेलाइरहेको घलेको भनाइ छ।