काठमाडौँ। बायर लेभरकुजनका गोलरक्षक लुकास हर्डेकीले बुन्डेसलिगामा कीर्तिमान खडा गरेका छन्।
ड्यूश बैंक पार्क आइतबार राति सम्पन्न फ्रान्कफुर्टविरुद्धको खेल्दै विदेशी गोलरक्षकका रूपमा २९२औँ खेल खेल्ने कीर्तिमान कायम गरेका हुन् ।
लेभरकुजनले फ्रान्कफुर्टमाथि ५–१ को जित निकाल्दा ३४ वर्षीय फिनल्यान्डका गोलरक्षकले बोरुसिया मोन्चेनग्लाडबाख र बायर्न म्युनिख तथा स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरको रेकर्ड तोडेका हुन्।
‘मलाई खेलअघि अखबार या म्याचडे पेपरहरू पढ्न मन पर्छ र मैले आज पढेको पनि थिएँ,’ आफ्नै पूर्व क्लबविरुद्ध खेलेपछि उनले भने,‘यस्तो सुन्दर देशमा दुई ठूला क्लबबाट खेल्न पाउँदा मलाई गर्व लाग्छ।’
हर्डेकी सन् २०१५ मा फ्रान्कफुर्टमा आबद्द भएका थिए। त्यसको ३ वर्षपछि उनी लेभरकुजनमा पुगेका थिए। फ्रान्कफुर्टबाट उनले १०१ खेल खेले। आइतबारको खेल लेभरकुजनका लागि उनको १९१औँ लिग खेल थियो।
उनले आफ्नो सरूवापछि फ्रान्कफुर्टमा लेभरकुजनलाई जिताएको पहिलो पटक थियो। ‘पाँच वर्षपछि अन्ततः जित हासिल गरेका छौँ। घरेलु टोलीसँग जित्दा सधैँ राम्रो महसुस हुन्थ्यो र यसपटक हामीले अवे खेलमा फ्रान्कफुर्टलाई पराजित गर्यौँ,’ उनले भने।
हर्डेकीले यस सिजन लेभरकुजनसँग बुन्डेसलिगाको उपाधि जितिसकेका छन्। सिजनको शुरूआतदेखि नै सबै प्रतियोगिताका ४८ खेलमा लेभरकुजन अपराजित यात्रा तय गरेको छ । यो क्रम जारी रहनेमा उनी आशावादी देखिन्छन्।
‘यो क्रम जारी छ, आशा छ कि अझै पाँच खेलमा हामी हार बेहोर्दैनौँ। अहिले बायरसँग खेल्न पाउनु खुसीको कुरा हो,’ उनले भने।
युरोपा लिगको सेमिफाइनलको दोस्रो लेगमा लेभरकुजनले रोमाको सामना गर्नेछ । गत साता रोममा भएको पहिलो लेगमा लेभरकुजनले २–० गोल अन्तरको जित हासिल गरेको थियो ।
त्यसपछि लेभरकुजनले बुन्डेसलिगाको अन्तिम खेलका लागि बोचुमको भ्रमण गर्छ। बोचुमले गत सिजनको अन्तिम दिन लेभरकुजनलाई पराजित गरेको थियो। जर्मन च्याम्पियनले आफ्नो लिग अभियान अग्सबर्गको घरेलु मैदानमा समाप्त गर्नेछ।
लेभरकुजनले मे २५ मा जर्मन कपको फाइनलमा दोस्रो डिभिजनको काइसरस्लाउटर्नको सामना गर्नेछ ।