एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले बर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे ।
बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा सिल्भाले फ्रिकिकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमा सिटी २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काएपनि सिटी २-१ ले विजयी भयो ।
घरेलु मैदानको जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ । र, सिटीले च्याम्पियन लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ ।
शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ । सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ ।
३१ अंक जोडेर बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ । यो हारसँगै बर्नेमाउथको रेलिगेसन सम्भावना बढेर गएको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा टोटेनहमले न्युकासल युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
टोटेनहमको जितमा ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल गरे । न्युकासलका म्याट रिट्चीले एक गोल फर्काए ।
त्यस्तै बर्नली र उल्भ्सले भने १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।