पोखरा । १८ औं संस्करणको आहा ! रारा ! गोल्डकप फुटबल पोखरा रंगशालामै हुने भएको छ ।
पोखरा रंगशाला निर्माणाधीन अवस्थामा रहेपनि फागुन अन्तिम साताबाट सुरु हुने प्रतियोगिता पोखरा रंगशालामै हुने निश्चित भएको हो । प्रतियोगिता अघि रंगशाला निर्माणको काम लगभग सकिने भएको छ ।
सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता फागुन २२ देखि चैत १ गतेसम्म हुनेछ ।
पोखरामा बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले पनि रारा गोल्डकप पोखरा रंगशालामा हुने बताए ।
यस्तै कार्यक्रमपछि पोखरा रंगशालाको निरिक्षण गर्दै सदस्य सचिब सिलवालले निर्माण कम्पनी एमए कन्सट्रक्सन प्राली र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्राविधिकहरुसँग रंगशालाको कामको जानकारी लिएका थिए । \\
पोखरा फुटबल स्टेडियमको कुल क्षमता १६ हजार ५ सय भएपनि त्यसलाई बढाएर २० हजार दर्शक क्षमताको बनाउने लक्ष्य रहेको सदस्य सचिब सिलवालले बताए ।
निर्माण कम्पनीका प्राविधिकका अनुसार फागुन २२ गते सम्म रंगशालाको १३ हजार ७ सय सिट बस्न लायक हुनेछ । यस्तै १२ वटा शौचालय प्रयोग गर्न सकिने भए पनि चेन्जिङरुम भने निर्माणाधिन अवस्थामा रहेको छ ।
पोखरा रंगशालामा करिब ५० जना अपाङगता भएका दर्शकहरुलाई समेत बस्ने व्यवस्था हुनेछ ।