काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगका सातौ चरणको खेल सकिएका छन् ।
सातौ चरणको खेल सकिदा शीर्ष स्थानको त्रिभुवन आर्मीले ३ अंकको स्पष्ट अग्रता लिएको छ ।
सोमबार दशरथ रंगशालामा बलियो मानिएको च्यासल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले शीर्ष स्थानमा पकड बनाएको हो ।
सातौ चरणको पहिलो खेलमै उपाधि दाबेदार मछिन्द्रले स्तब्धपूर्ण नतिजा आत्मसाथ गर्यो । उसलाई कमजोर मानिएको हिमायनल शेर्पा क्लबले पराजित गर्यो । आर्मी सोही दिन शीर्ष स्थानमा उक्लिएको थियो ।
उपाधिका दोबेदार मनाङ र थ्री स्टारले २–२ गोलको बराबरी खेल्दा अन्तिम दिन च्यासलमाथि जित हासिल गर्दै आर्मीले लिगमा स्पष्ट तीन अंकको अग्रता लिएको छ ।
राष्ट्रिय टिमका भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले दोस्रो हाफमा एक–एक गोल गरेपछि आर्मीले सहज जित निकाल्यो ।
उपाधि होडमा बलियो देखिएको आर्मीले मछिन्द्र, मनाङ मस्र्याङदी, न्यूरोड टिम एनआरटी, थ्री स्टार र नेपाल पुलिसलाई पछाडी पार्यो ।
लिगको शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछन् । त्यसैले सहभागी टिम शीर्ष ६ भित्र पर्ने लक्ष्य राखेका छन् ।
तर सातौं चरणको खेल सकिदाँ शीर्ष ६ भित्र रहने टिमले लिगमा उपाधि दाबेदारिता प्रस्तुत गरेका छन् ।
शीर्ष स्थानको आर्मी भन्दा मछिन्द्र र मनाङ मात्र तीन अंकले पछाडी छन् । एनआरटी, थ्री स्टार र पुलिस ५ अंकले तल छन् । तीनै क्लबको समान ११ अंक छ ।
लिगमा ४९ खेल समाप्त भैसकेको छन् । अर्थात लिग आधा सकिएको छ ।
अब प्रत्येक टिमले ६ खेल खेल्न बाँकी छ । आर्मी ७ खेलबाट १६ अंक सहित शीर्ष स्थानमा छ । समान १३ अंक जोडेका मछिन्द्र र मनाङ गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
एनआरटी, थ्री स्टार, नेपाल पुलिस क्लबको समान ११ अंक रहेको छ । गोल अन्तरका आधारमा एनआरटी चौथो, थ्री स्टार पाचौं र पुलिस छैठौ स्थानमा छन् ।
संकटा र जावलाखेल समान ९ अंक सहित सातौ र आठौं स्थानमा छन् । ब्रिगेड र फ्रेन्ड्स समान ८ अंक सहित नवौ र दशौ स्थानमा छन् । शेर्पा ७ अंक सहित ११ औ र च्यासल ६ अंक सहित १२ औं स्थान छ । एपीएफ ५ अंक सहित १३ औं र पुछारको टिम सरस्वतीले मात्र एक अंक जोडेको छ ।
लिगमा अनपेक्षित नतिजा निस्किरहेका छन् । शीर्ष स्थानको आर्मी भन्दा छैटौ स्थानको क्लब मात्र ५ अंकले पछाडी छ । आर्मीको प्रर्दशन एकनाशको छैन । जसको फाईदा अन्य क्लबले उठाउन सक्छन् । छैटौ चरणको खेलमै समेत आर्मी गत सिजनको उपविजेता संकटासंग बराबरीमा रोकिएको थियो ।
थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी अहिलेनै कुन टिमले उपाधि हात पार्छ भनेर भन्न सकिने अवस्था नरहेको बताउँछन् ।
‘अहिलेनै कुनै टिमले लिग जित्छ भन्न सक्ने अवस्था छैन । कुनैपनि टिमले एकनाशको प्रदर्शन गर्न सकेका छैनन् । अझै ६ खेल बाँकीनै छ ।’ उनी भन्छन् ।
लिग निर्देशन संजिब मिश्र पनि पुछारका केहि क्लबलाई छाडेर अन्य क्लबको लिग जित्ने सम्भावना कायम रहेको बताउँछन् ।
‘शीर्ष स्थानको आर्मी केहि माथि छ । तर अन्य क्लबको एकैनाशको अंक रहँदा धेरै क्लबको सम्भावना उत्तिकै छ । लिग जित्ने टोलीबारे भन्न सकिने अवस्था छैन ।’ उनी भन्छन् । आधुनिक फुटबलको प्रतिस्पर्धा घरेलु फुटबलको अंक तालिकामा समेत देखिएको छ । लिगमा दर्शक छैनन् ।
योजकको केही कमीकमजोरी देखिएको छ । तर लिग तालिकाको रोमाञ्चकताले घरेलु फुटबललाई चकम दिएको छ । पुछार सरस्वतीलाई छाड्ने हो भने अन्य क्लबको प्रर्दशन र नतिजामा खासै ठुलो भिन्नता देखिदैन ।
लिग तालिकामा पहिलो पटक खासै ठुलो अन्तर नदेखिएको लिग निर्देशक मिश्र बताउँछन् ।
‘लिगमा जुन प्रकारको तालिका देखिएको छ, सायद नेपाली फुटबलमा पहिलो पटक हो । नेपाली फुटबलमा खेल्दा होस् वा खेलाउँदा यस्तो तालिका आएको छ्रैन ।’ मिश्र भन्छन् । लिगका आठौं चरणको खेल बुधबारबाट सुरु हुनेछन् ।
सर्वाधिक गोलकर्तामा आशिष र सन्तोष
लिगमा राष्ट्रिय टिमका पुर्व सदस्य आशिष लामा र सन्तोष साहुखलले सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् । दुवैले ५ गोल गरेका छन् । राष्ट्रिय टिमबाट एक क्याप जितेका एपीएफका आशिषले एनआरटीविरुद्ध २, सरस्वती युथविरुद्ध २ र संकटाविरुद्ध १ गोल गरेका छन् ।
राष्ट्रिय टिमबाट २९ खेल खेलेर ४ गोल गरेका सन्तोषले पनि चालू लिगमा ५ गोल गरिसकेका छन् । उनले संकटाविरुद्ध २, मछिन्द्रविरुद्ध १ र नेपाल पुलिसविरुद्ध २ गोल गरेका थिए ।
लिगमा सन्तोष साहुखलले आधुनिक लिग फुटबलमा सय गोलको कोसेढुंगा पार गरेका हुन् ।
यस्तै, नेपाल पुलिस क्लबका सुमन लामा र आर्मीका नवयुग श्रेष्ठले समान ४ गोल गरेका छन् । मछिन्द्रका एडेलाजा सोमिडे, मनाङका बिमल राना, फ्रेण्डसका उत्तम राई र एनआरटीका दर्शन गुरुङले सामान ३ गोल गरेका छन् ।