काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अल राउन्डर दीपेन्द्र सिंह ऐरी पहिलो पटक अन्तराष्ट्रिय फ्रेन्चाइज टी–ट्वान्टी क्रिकटको 'ड्राफ्ट'मा समावेश हुदाँ निकै खुसी लागेको बताएका छन् ।
विभिन्न अन्तराष्ट्रिय फ्रेन्चाइज टी–ट्वान्टी क्रिकट लिगमा प्रयास गर्दै आएका दीपेन्द्रको पहिलो पटक सीपीएल ड्राफ्टमा परेका हुन् ।
दीपेन्द्र सहित नेपालका थप तीन नेपाली खेलाडी ड्राफ्टमा परेका छन् । राष्ट्रिय टोलीका युवा खेलाडी रोहित कुमार पौडेल, अल राउन्डर सोमपाल कामी र ग्लोबल आइकन बनेका सन्दीप लामिछाने ड्राफ्टमा रहेका छन् ।
‘ड्राफ्टमा नाम आउँदा निकै खुसी लागेको छ ।’ उनले खेलपाटीसंग भने, ‘सुरु देखिनै अन्तराष्ट्रिय लिगमा खेल्ने सपना थियो । ड्राफ्टमा नाम आएको छ, खुसी लागेको छ । हेरौ के हुन्छ ।’
’ड्राफ्टमा समावेश हुदैमा खेल्न पाउने फिक्स छैन । मेहनत गरिरहेको छु । आशा छ, कुनै टिमले लिनेछ ।’ उनी थप्छन् ।

विभिन्न फ्रेन्चाईजमा समावेश सन्दीपका कारण धेरै नेपाली खेलाडीले एक्सपोजर पाउने सम्भावना बढेको दीपेन्द्रको भनाई छ । नेपालका चार खेलाडी अन्तराष्ट्रिय फ्रेन्चाइज लिगको ड्राफ्टमा परेको यो पहिलो पटक हो ।
क्यारिबियन लिगमा खेलाडीसँग ड्रेसिङ रूम सेयर गर्न दीपेन्द्र कत्तिको उत्साहित छन् त ?
‘त्यो पनि हैन । तर मलाई कुनै टिमले समावेश गरेमा त्यो नै ठुलो अवसर हुनेछ । प्रतियोगितामा राम्रो प्रर्दशन गर्ने मेरो लक्ष्य हुनेछ ।’ उनले थपे ।